सहकारी ठगलाई गृहमन्त्री बनाएपछि कांग्रेसद्वारा विरोध, ओली र प्रचण्डले जवाफ पाए

काठमाडौं । नेपाली कांग्रेसका सांसद समेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा विश्वासको खडेरी परेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक–पटक विश्वास पाउने गरेको भन्दै आश्चर्य प्रकट गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालको विपक्षमा मतदान गर्दै शर्माले सबैतिर विश्वासको खडेरी परेको तर, प्रधानमन्त्रीले भने पटकपटक त्यही माग्ने र पाउने गरेको बताएका हुन् ।

‘हाम्रो देशमा सबैभन्दा संकटमा केही छ भने त्यो विश्वास हो’, शर्माले भने, ‘प्रशासन, अस्पताल, व्यापारी, विद्यालय, छिमेकी हुँदै राजनीतिक नेतृत्वमाथिको विश्वास पनि संकटमा परेको छ ।’

उनले भने, ‘विश्वासको यस्तो महाखडेरी परेका वेला प्रधानमन्त्री विश्वासको मत माग्न उभिनुभएको छ ।’ ‘मलाई अचम्म लाग्छ, विश्वासको यस्तो खडेरी परेका बेला पनि उहाँले एक वर्षमा तीन पटकसम्म विश्वासको मत पाउने गर्नुभएको छ’, महामन्त्री शर्माले भने ।

सांसद शर्माले पार्टीले आफ्नो डकुमेन्ट कम्युनिस्ट प्रधानमन्त्रीलाई सोधेर लेख्नुपर्ने भन्दै प्रश्न गरेका छन् । शर्माले प्रधानमन्त्रीलाई कांग्रेसले धोका नदिएको बताएका छन् । फागुन १० गते सम्पन्न कांग्रेस महासमिति बैठकमा केही साथीहरूले उठाएको हिन्दु धर्मको प्रस्ताव पार्टीको आधिकारिक धारणा नभएको बताए ।

उनले प्रधानमन्त्रीले यो विषयलाई धोकाको रूपमा लिनु गलत भएको बताएका छन् । महामन्त्री शर्माले कोशीमा माओवादी पराजित हुँदा आफूहरूले पनि कांग्रेस पराजित भएको महसुस गरेको बताएका छन् । उनले आफूहरूको डकुमेन्टमा पनि उल्लेख भएको जानकारी गराएको बताएका छन् ।

‘राजनीतिक रूपमा अविश्वास छ तर, विश्वासको मत छ’, उनले भने । नेपालमा सबैभन्दा धरापमा विश्वास परेको भन्दै उनले प्रशासन, अस्पताल, बजार, स्कुल जहाँ जाँदा पनि विश्वासको खडेरी परेको बताएका छन् ।

प्रधानमन्त्री दाहाल दुईतिहाइको समर्थनबाट घट्दै गएको उनले बताएका छन् । अविश्वास हुँदा पनि गणितीय खेलले विश्वासको मत दिनुपर्ने अवस्था रहेको उनले बताए । शर्माले प्रधानमन्त्रीले गठबन्धन फेरबदल गर्दा मंसिर ४ मा मत दिने ती सबै मतदातामाथि गम्भीर धोका भएको बताए ।

शर्माले भने, ‘मैले झापामा मलाई जिताएर पठाउने माओवादी कार्यकर्तालाई के जवाफ दिऊँ, तपाईंले गोरखामा गएर के जवाफ दिनुहुन्छ ? हिजो तातो घाममा लाइन लागेर हामीलाई मतदान गरेका सबै मतदातालाई गम्भीर धोका भयो ।’

संसदभित्र टाउको जोड्ने विषयभन्दा जनताबाट लिइएको मत महत्वपूर्ण हुने उनले बताएका छन् । कांग्रेसका सांसद शर्माले विभिन्न आरोपमा अनुसन्धानमा तानिएका नेतालाई कसरी मन्त्री बनाउन सकिन्छ भनेर प्रश्न गरेका छन् ।

उनले भने, ‘प्रधानमन्त्री आफैंले अनुसन्धानमा तानिएका र प्रमाणित हुन बाँकीलाई मन्त्री नबनाउने बताउनुभएको थियो ।’ शर्माले भने, ‘तर, तपाईंले के गर्नुभयो ? प्रमाणित हुन बाँकीलाई मन्त्री बनाउन पाइन्छ ?’

सहकारी ठगीमा अनुसन्धानको प्रक्रिया चल्दै गर्दा विवादितलाई मन्त्री बनाएपछि राज्यका प्रतिनिधि पोखराबाट फर्कनुपरेको समेत शर्माले बताएका छन् ।

नयाँ दलले पनि पहिले ‘नो नट अगेन’ भने पनि बुढा नेतालाई पटक–पटक ‘एट अगेन’ भनेको पनि बताएका छन् । ‘पहिले नो नट अगेन, बुढा नेतालाई पटकपटक एट अगेन ?’, शर्माले रास्वपाप्रति लक्षित गर्दै भनेका छन् ।

कांग्रेसका महामन्त्री शर्माले प्रधानमन्त्री दाहाल, एमालेका अध्यक्ष केपी ओली र रास्वपाका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेप्रति गम्भीर प्रश्न उठाउँदै कडा जवाफ दिएका छन् ।

Published : Wednesday, 2024 March 13, 9:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया