प्रधानमन्त्रीको फेसमा आज ओझ देखिएन, आयु कति छ ? थाहा छैन : सभापति यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का सांसद तथा परराष्ट्र सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारलाई अभिमन्यू भन्दै छोटो रहेको संकेत गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने क्रममा यादवले नयाँ गठबन्धनको सरकारको भविष्यलाई लिएर चिन्ता जनाएका हुन् । उनले सरकारको आयु लामो हुने वा नहुनेभन्दा पनि छोटो समयमा पनि स्मरण योग्य काम गर्नुपर्ने बताए ।

उनले भने, ‘यहाँको बन्दोवस्तीका अनुसार चुनाव भएको आज १५ महिनाभित्रमा तेस्रो पल्ट प्रधानमन्त्रीजीले रोष्टममा उभिएर विश्वासको मत माग्नुभएको छ । सहयात्रीहरू फेरिएको छ ।’

‘प्रधानमन्त्री चाहिँ विश्वासको मत पाइरहनुभएको छ । यो विचित्रको विडम्बना हो’, उनले भने, ‘मलाई उहाँलाई शुभकामना दिन मन छ ।’

‘त्यो शुभकामना म कुन रुपमा दिउँ प्रधानमन्त्री ज्यू ? महाभारतको समयमा अभिमन्यूलाई उसका काकाहरूले अर्जुन, युधिष्ठिरले शुभकामना दिँदा आयुष्मान भने । कृष्णले शुभकामना दिँदा आयुष्मान भनेन् । अजष्य भव भने । अभिमन्यूकी आमा द्रुपतीले सबैले यसलाई लामो आयुको शुभकामना दिए । तपाईले दिनुभएन । किन होला ? भनिन् । कृष्ण भगवान भएपछि उहाँलाई सबै लीला थाहा थियो’, सभापति यादवले भने ।

‘कृष्णले के भन्नुभयो भने– आयु लामो भएर हुँदैन । जति बाँचिन्छ, त्यो कालमा त्यसले कसरी जीवन बाँच्यो ? त्यो महत्वपूर्ण हो’, यादवले भने ।

‘म प्रधानमन्त्रीजीलाई यहाँको कार्यकाल कति लामो होला भन्ने कुरा म यकिन साथ भन्न सक्दिन’, यादवले भने, ‘यहाँको कार्यकाल राष्ट्रको लागि, मुलुकको लागि केही उपलब्धी मूलक होस् भन्ने हाम्रो शुभकामना होस् । त्यो एक प्रकारको इच्छा हो ।’

उनले भने, ‘त्यो आयू तपाईको हातमा छ । तपाई जनयुद्ध लडेर आएको, क्रम भङ्गता गरेको । अहिले त फेरि उथलपुथल गरिदिने । सहयात्रीलाई त थाहै हुँदैन । अरु देशमा अरु व्यवस्थामा अरु सहयात्रीका कारणले प्रधानमन्त्री धरापमा पर्छ ।’

‘यहाँ आफैले यताबाट उता, उताबाट यता, गर्दागर्दा…त्यसैले यसमा हामी भन्न सक्दैनौँ, त्यो निर्णय गर्न सक्दैनौँ तथापि यहाँसँग हामी सहकार्य गर्दै आएका छौँ । यहाँकै हातमा छ’, जसपाका सांसद यादवले भने ।

‘आज यो रोष्टममा सारा संसार, सारा नेपालीहरूका भविष्य निर्माण गर्ने थलोमा आज जसरी दोहोरी चलेको छ, जुन भाषाको प्रयोग भएको छ, जुन प्रकारका अभिव्यक्तिहरू अभिव्यक्त भएका छन्, म सत्ता पक्षकै एउटा घटक र त्यसको प्रतिनिधिको नाताले पनि यसलाई राम्रो मान्न सक्ने अनुभूति, त्यो ल्याकत मसँग छैन’, उनले भने ।

‘म यहाँलाई भनेको थिएँ । यहाँलाई पछाडिबाट हेरिरहेको थिएँ । योभन्दा अगाडि विश्वासको मत माग्दै गर्दा यहाँको जुन प्रकारको दृढ विश्वास, इतिहाँस रच्छु भन्ने जुन प्रतिवद्धता जाहेर गर्दा…फेसमा ओझ थियो, आज त्यो ओझ देखिएन’, सांसद यादवले भने ।

उनले भने, ‘प्रधानमन्त्रीज्यू तपाई टेक्निकल्ली ‘योर साउण्ड’ गणपुरक संख्या पुगेको छ । प्रधानमन्त्री हुनु भएको छ । यसमा कुनै दुईमत छैन । यो मुलुकको सामुन्ने, यो व्यवस्थाको सामुन्ने र नेपाली जनताको सामुन्ने सबैभन्दा ठूलो प्रश्न यज्ञ प्रश्न हो विश्वासको, आज नेपाली जनताले नेपाली नेताहरूमाथि, नेपाली पार्टीहरूमाथि, नेतृत्वमाथि विश्वासको खडेरी भएको छ, नेताहरू भाषण गर्दा जनताले पत्याउन छाडेका छन् ।’

‘फेरि पनि शुभकामना दिन चाहन्छु । यहाँको लागि इतिहाँस रच्नको लागि क्षण हो । धेरै प्रयोग गरिरहने मान्छे त हुनुहुन्छ । कहिले काहिँ ‘ईन आफ ईज ईन अफ’ भन्छन् नि ? त्यो नगर्नु होला’, सभापति यादवले भने ।

‘अस्ति भरखरै ८ बुँदे सम्झौता ७ बुँदेमा झरेको छ । ८ बुँदा हुँदा मधेशसँग गरेका सम्झौताहरू पनि लागू होला भन्ने लागेको थियो’, उनले भने ।

‘म यहाँलाई स्मरण गराउन चाहन्छु अब मान्छे एकएक कार्य, कामहरूलाई सुक्ष्म ढङ्गले नियाली रहेको छ । विश्लेषण गरिरहेको छ । नेपाली जनतामा राजनीतिक चेतना बढेर गयो’, उनले भने ।

‘तपाईहरू चार पाँच जना लोकतन्त्रलाई सिण्डिकेटका रुपमा अगाडि बढाउन खोज्दै हुनुहुन्छ भविष्यको लागि यो राम्रो होइन’, यादवले भने, ‘यसलाई बृहत रुपमा नेपाली जनताको जनअपेक्षाअनुसार विश्वास जित्ने हो भने सरकार बनेको हप्तादिन भएको छैन तपाईले ३ वटा प्रमुख बदलिनुभयो त्यसमा मधेशीको अनुहार देखिएन ।’

‘हामी एउटा सशक्त घटक हौँ । तपाईले गरेका प्रतिवद्धताअनुसार हामी आफ्नो भाग खोज्छौँ’, उनले भने, ‘हाम्रो भाग न्याय सँगत लागेन भने त्यतिबेला हामीले त्यतिकै रुपमा हिसाब माग्ने छौँ । त्यो हिसाब अप्रिय पनि हुन सक्छ ।’

Published : Wednesday, 2024 March 13, 8:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया