प्रचण्डले उथलपुथल गरेर सहकारी ठग लामिछानेलाई गृहमन्त्री बनाएको आरोप, सुन तस्करलाई कारबाही गर्न माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सुशीला थिङ्गले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति विवादित व्यक्ति रवि लामिछानेलाई गृहमन्त्री बनाएकोमा आपत्ति जनाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ माग गरेकी छिन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा शुरुमा समय लिएर बोल्दै कांग्रेस सांसद थिङ्गले सहकारीको रकम दुरुपयोग गरेको आरोप लागेका सभापति लामिछानेलाई प्रधानमन्त्री दाहालले उथलपुथल गरेर गृहमन्त्री बनाएको व्याङ्ग्य गरिने । विवादित व्यक्ति रवि लामिछानेलाई गृहमन्त्री किन बनाएको हो ? भनेर प्रश्न गर्दै उनले उपयुक्त जवाफ नदिए भविष्यमा सहज अवस्था आउन नसक्ने चेतावनी दिइन् ।

उनले भनिन्, ‘केही दिनदेखि सदनमा विवादास्पद मन्त्रीहरूको विषयमा धेरै कुराहरू उठेको रेकर्डेड छ । जुन कुरामा सम्माननीयज्यूबाट रुलिङ भएको कुरा पनि अवगत छ ।’

‘सदनमा सरकारको पक्षबाट प्रधानमन्त्रीज्यूले त्यस्ता विवादास्पद मन्त्रीहरूलाई केही कारबाही गरेको सेन्समा के भन्नुभयो भन्दाखेरी हामीले त्यो सम्बन्धित कुरालाई सम्बोधन गरेर आएका छौँ भनेर भन्नुभयो’, उनले भनिन् ।

‘उहाँले सम्बोधन कस्तो ठाउँमा गर्नुभयो ? उहाँकै शब्दमा म सम्झन चाहन्छु’, सांसद थिङ्गले भनिन्, ‘उथलपुथल गरेर ल्याउनुभयो । साँच्चिकै राम्रो कुरा ल्याउनुभए छ ।’

‘उहाँले क्लिन चिट पाएका मन्त्रीहरू कसरी ल्याउनुभए छ भन्दाखेरी सहकारी ठगीमा जोडिएका, पोखरा महानगरपालिकाले प्रतिवेदन दिएर अनुसन्धानमा रहेका गृहमन्त्री बनाएर ल्याउनुभए छ’, उनले भनिन्, ‘साँच्चिकै उहाँले उथलपुल गरेर ल्याउनु भएछ । यो कुरामा म सम्माननीय प्रधानमन्त्रीज्यूलाई धन्यावाद दिन चाहन्छु ।’

प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेलाई प्रश्न गर्दै उनले भनिन्, ‘के नेपाल प्रहरीका प्रहरीले गृहमन्त्रीज्यूलाई स्यालुट गर्दै अनुसन्धानमा आफ्नो मुद्दामा आफैलाई दोषी हो भन्ने ठहर हुने गरी यो अनुसन्धान होला कि नहोला ? प्रधानमन्त्रीजीले जवाफ दिने कि नदिने ? यो कुरा म फेरि पनि दोहोर्‍याउन चाहन्छु ।’

‘प्रधानमन्त्रीजीले कसरी उथलपुथल गरेर ल्याउनु भएछभन्दा मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १७६ मा के भनिएको छभन्दा स्वार्थ बाझिने मुद्दामा न्यायाधीशले फैसला गर्न मिल्दैन भनेर व्यवस्था गरिएको छ’, उनले भनिन् ।

‘उहाँले ठ्याक्कै आफ्नो मुद्दामा आफै न्यायाधीश हुन पाउने व्यवस्था हुने गरी, कानूनमै उथलपुथल गरी गृहमन्त्री बनाएर ल्याउनु भएछ’, थिङ्गले भनिन्, ‘यसको जवफा कसले दिने हो ? प्रश्न गर्न चाहन्छु ।’

कांग्रेस सांसद थिङ्गले माओवादी केन्द्रका नेता समेत रहेका तत्कालीन उप–राष्ट्रपति नन्दबहादुर पुन र उनको सचिवालय सुन तस्करीमा संलग्न रहेको भन्दै कारबाहीको माग गरेकी छिन् ।

उनले भनिन्, ‘तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालय पनि सुन तस्करीमा जोडिएको कुराहरू आएको छ । यो विषयहरूमा कसरी जाने हो ? यो विषयहरूमा निराकरण नभएसम्म अबको सदनहरू त्यति सहजै चल्छ भन्ने अनुमान नगरिदिनु हुन पनि बिन्ती गर्दछु ।’

Published : Wednesday, 2024 March 13, 6:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया