जिम्मेवारी सम्हाल्दा अर्थतन्त्र शिथिल थियो, मेहनतका साथ लयमा ल्याएँ : डा.महत

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले संकटमा रहेको अर्थतन्त्रलाई लयमा फर्काउने प्रयास गरेको बताएका छन् ।

मंगलबार पार्टी कार्यालय ललितपुरमा पत्रकार सम्मेलन गरेर निवर्तमान अर्थमन्त्री डा.महतले अथक प्रयासका साथ लयमा फर्काउने प्रयास गरेको बताए । डा.महतले अर्थतन्त्रका सूचकहरू नकारात्मक नरहेका र यसका लागि आफूले मेहनत गरेको बताए ।

उनले भने, ‘मैले अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दा मुलुकको अर्थतन्त्रको अवस्था शिथिल थियो, मेहनतका साथ लयमा ल्याएका थियौँ ।’

‘नेपाल राष्ट्र बैंक, एसियाली विकास बैंक (एडिबी) र विश्व बैंकलगायतले प्रकाशित गरेका तथ्याङ्कबाट पनि यो स्पष्ट हुन्छ’, उनले भने ।

‘अर्थमन्त्रीको जिम्मेवारी लिँदा मूल्यवृद्धि आठ दशमलव पाँच प्रतिशत रहेकोमा अहिले त्यो पाँच प्रतिशतमा सीमित छ’, डा.महतले भनेका छन् ।

अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि मौद्रिक नीति खुकुलो बनाइएकाले पछिल्लो समय बैंकको ब्याजदर घट्दै गएको उनले बताएका छन् ।

उनले भने, ‘अर्थतन्त्र सकारात्मक लयमा रहेका कारण पुँजीबजार, घरजग्गाको कारोबार र पर्यटन व्यवसायले गति लिएको छ ।’

डा.महतले न्यून बजेट विनियोजनमा बहुवर्षीय ठेक्का दिने चलनले बजेटरी प्रणालीमा समस्या सिर्जना गरेको बताएका छन् । उनले सरकारमा रहँदा सुशासन र मितव्ययितालाई ध्यानमा राख्दै काम गरेको बताएका छन् ।

पुँजीगत खर्चको प्रभावकारिता बढाउन, बजेट प्रणालीमा सुधार ल्याउन, तीन करोडभन्दा कम बजेटका आयोजना प्रदेश र स्थानीय तहले नै गर्न दिने गरी काम गरिरहेको उनले बताए ।

प्रवक्ता डा.महतले कांग्रेस तत्कालीन सत्तागठबन्धनकै पक्षमा रहेको बताए । उनले कांग्रेसको महासमिति बैठकले पनि सोही गठबन्धनलाई निरन्तरता दिने नै निर्णय गरेको उल्लेख गरेका छन् ।

Published : Tuesday, 2024 March 12, 6:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया