भाइ, छोरा, छोरी, बुहारी, ज्वाइँहरूका लागि प्रचण्डको उथलपुथल, परिवारभित्र चरम अवसरवाद

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभाको अध्यक्ष पदमा आफ्नै भाइ नारायण दाहाललाई टिकट दिएपछि दाहाल परिवारको एकाएक चर्चा भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको माओवादी पदाधिकारी बैठकले नारायण दाहाललाई राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको हो । अध्यक्ष पदका लागि उर्मिला अर्याल र झग्गु सुवेदी पनि आकांक्षी थिए । प्रधानमन्त्री दाहालले आफ्नै भाइलाई अध्यक्षको टिकट दिएपछि दाहाल परिवारको परिवार मोहले नयाँ तरंग ल्याइदिएको छ ।

आफ्नो मृत्यु नहुँदासम्म उथलपुथल भइरहने बताएका प्रधानमन्त्री प्रचण्डले परिवारवादलाई अवसर दिनकै लागि उथलपुथल गराउँदै आएको पुष्टि भएको छ ।

नारायण दाहाल राष्ट्रिपतिद्वारा मनोनीत राष्ट्रिय सभा सदस्य हुन् । दाहालको कार्यकाल चार वर्षको रहेको छ । २०७८ मा दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए । सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन् ।

चितवन स्थायी ठेगाना भएका नारायण दाहाल २०३१ सालदेखि राजनीतिक दलमा सक्रिय रहेको संघीय संसद् सचिवालयले प्रकाशित गरेको संघीय संसद् सदस्य विवरण, २०८० पुस्तकमा उल्लेख छ । त्यसअघि उनी २०२७ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय थिए । उनी २०५७ सालदेखि माओवादी केन्द्रीय सदस्य छन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ मा नारायण दाहाल अन्तरिम व्यवस्थापिका संसद् सदस्य बनेका थिए । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा दाहाल चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए ।

पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा सल्लाहकारसमेत रहेको नारायण दाहालको अनुभव छ । माओवादी, एमाले, नेकपा (एकीकृत समाजवादी) र जसपा नेपाल लगायतको सत्ता गठबन्धन हुँदा राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने सहमति भएको थियो । उपाध्यक्षमा एमालेको उम्मेदवार बन्ने सहमति छ ।

प्रचण्डले पार्टीभित्र परिवारवाद भित्र्याएका छन् । जसरी भारतमा गान्धी र नेपालमा कोइराला परिवारलाई यसअघि परिवारवादमा फसेको आरोप लगाइन्थ्यो, त्यसैगरी प्रचण्डले परिवारवाद भित्र्याएका छन् ।

छोराछोरीलाई स्वकीय सचिव बनाउनेदेखि भाइलाई पार्टीको प्रदेश अध्यक्ष, ज्वाइँलाई सरकारी नियुक्ति दिलाउने, प्रदेशसभा सदस्य, मन्त्री र काका नाता लगाउनेलाई राजदूतको नियुक्ति दिलाउनेसम्ममा प्रचण्डले कीर्तिमान बनाएका छन् ।

२०६५ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका बेलादेखि नै प्रचण्डले दाहालतन्त्रको सूत्रपात गरेका छन् । दिवंगत भइसकेका छोरा प्रकाश दाहाललाई सचिवालयमा नियुक्त गरेको भन्दै पार्टीभित्र आलोचनाको स्वर सुनिएको थियो । पत्नी स्व.सीता दाहाल तत्कालीन माओवादी केन्द्रको सल्लाहकार कमिटीमा थिइन् ।

दोस्रोपटक प्रधानमन्त्री नियुक्त हुँदा पनि प्रचण्डले परिवार र नातागोतालाई सरकारी नियुक्ति दिलाउन छाडेनन् । नाताले आफ्नै भतिजा पर्ने समीर दाहाललाई प्रचण्डले पीएमा नियुक्त गरेका थिए । समीर दाहाल राष्ट्रियसभाको अध्यक्षको टिकट पाएका नारायण दाहालका छोरा हुन् ।

तत्कालीन समयमा प्रचण्डले छोरा प्रकाश दाहाललाई पनि पार्टी पोलिट्व्यूरो सदस्य र प्रधानमन्त्रीको सचिवालयमा राखिएका थिए ।

०८० सालसम्म आइपुग्दा अध्यक्ष प्रचण्ड परिवारवादको चङ्गुलमा नराम्ररी फसेको प्रतीत हुन्छ । यसपटक छोरी–ज्वाइँ, बुहारी, सम्धी, भतिजो गरी झन्डै १० जनालाई उनले राजनीतिक र सरकारी नियुक्ति दिलाएका छन् ।

०७४ वैशाखमा सम्पन्न भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरको मतगणना सम्झन लायक रह्यो । कांग्रेस–माओवादी केन्द्रकी साझा उमेदवार प्रचण्डपुत्री रेणु दाहाललाई मेयर पदमा जिताउन मतपत्र च्यात्ने र दोहोर्‍याएर चुनाव गराउनेसम्म प्रपञ्च रचियो । मतपत्र च्यातेको कसूरमा तत्कालीन माओवादी केन्द्रका नेता तथा कार्यकर्ता द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेलाई जिल्ला अदालत चितवनले दोषी ठहर गरी जनही एक–एकलाख रुपियाँ जरिवाना गरेको थियो ।

तत्कालीन समयमा मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा अध्यक्ष दाहालले बुहारी वीना मगरलाई कञ्चनपुर–१ को टिकट दिए । ज्वाइँ जीवन आचार्यलाई मोरङ–६ को (१) प्रदेशको टिकट दिए । बुहारी वीनाले चुनाव जितिन् । कान्छा ज्वाइँ जीवन निर्वाचित हुन सकेनन् । जीवनले २०७९ सालको प्रदेशसभा निर्वाचन भने जितेका छन् । निर्वाचन जितेपछि प्रचण्डले ज्वाइँ जीवनलाई कोशी प्रदेश सरकारको मन्त्री नै बनाइदिए । जीवन आचार्य अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डकी कान्छी छोरी गंगा दाहालका पति हुन् ।

गंगा दाहाल प्रधानमन्त्री दाहालको स्वकीय सचिव छिन् । प्रधानमन्त्री कार्यालय र निवासमा रहेर गंगाले हालिमुहाली गर्दै आएकी छिन् । भारतीय नागरिकसँग विवाह गरेकी गंगाको सम्बन्ध बिच्छेद भएपछि मोरङका जीवन आचार्यसँग विवाह गरेकी हुन् । कान्छो ज्वाइँ जीवन आचार्य केही समयअघि उप–राष्ट्रपति नन्दबहादुर पुनको विशेष सल्लाहकारमा नियुक्त भएका पनि थिए ।

स्व.प्रकाश दाहालकी कान्छी पत्नीका रूपमा भित्रिएकी वीनालाई सांसदमा निर्वाचित गराएरमात्रै पुगेन, मन्त्री नै बनाउने रहर जागृत भयो प्रचण्डमा । केपी ओली नेतृत्वको तत्कालीन सरकारमा उनी सरसफाइ तथा खानेपानी मन्त्री बनेकी थिइन् ।

पद र जिम्मेवारी आफ्ना नाता–गोतालाई सुम्पने प्रचण्डको कदम यतिमै सकिँदैन । जेठी छोरी ज्ञानु दाहाल केसी (ज्ञानुको क्यान्सर रोगका कारण २०७० चैत १३ गते उपचारका क्रममा निधन भएको थियो)का पति सागर केसीलाई तत्कालीन सभामुख कृष्णबहादुर महराको स्वकीय सचिवमा नियुक्त गराएका थिए ।

माइलो ज्वाइँ अर्जुन पाठक (जो रेणु दाहालका पति हुन्)लाई भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको विशेष सल्लाहकार चयन गरिएको छ । सरकारी पदमा आसिन हुन बहिनीज्वाइँ पनि छुटेका छैनन् । प्रचण्डका बहिनीज्वाइँ खेम भण्डारीलाई भरतपुर अस्पतालको अध्यक्षमा नियुक्त गरिएको थियो ।

टीबी पाठकका ज्वाइँ तथा छोरी रेणु दाहालका नन्देभाइ चूडामणि खड्कालाई पनि समानुपातिकतर्फको अपाङ्गताको कोटाबाट सांसद नियुक्त गरिएको छ । माइली छोरी बाबुको उत्तराधिकारीका रूपमा भरतपुर महानगरको बागडोर सम्हालिरहेकी छिन् । प्रचण्डलाई काका साइनो लगाउने महेश दाहाल पनि अवसर पाउनेमा पर्छन् । नेपाली कांग्रेस परित्याग गरेर माओवादी बनेका महेश दाहाललाई प्रचण्डले अस्ट्रेलियाको राजदूत बनाइदिएका थिए ।

नाता–गोता, इष्टमित्रलाईमात्रै पोस्ने दाहालको कार्यशैलीको पार्टीभित्र विरोध भइरहन्छ । प्रचण्डले आलोचनाको बेवास्ता गर्दै आएका छन् । प्रचण्ड परिवारवादभन्दा माथि उठ्न सकेका छैनन् । राजनीतिक इमान्दारिता, विश्वास र इमान गुमाएका प्रचण्डले आफ्नै भाइलाई राष्ट्रियसभा अध्यक्षको टिकट दिएपछि देशभरि चर्चा भइरहेको छ ।

Published : Sunday, 2024 March 10, 9:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया