सापकोटाको ग्याङ भनेपछि नारायणकाजीलाई झण्डै भुत्ल्याए, मन्त्रीहरू दोहोर्‍याएको भन्दै आलोचना

काठमाडौं । नेकपा (माओवादी केन्द्र)मा मन्त्रीहरूलाई दोहोर्‍याएको भन्दै सांसदहरूले जबरजस्त आलोचना गरेका छन् ।

माओवादी संसदीय दलको बैठकमा सांसदहरूले विधि, पद्धति र सुशासनको कुरा गर्ने पार्टीभित्र सीमित नेताहरूको बोलवाला रहेको भन्दै आलोचना गरेका हुन् । सांसदहरूको आलोचना सुनेपछि प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ झेक्र्याएको एक सांसदले बताएका छन् ।

उप–प्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्मा र उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतको खुलेर सांसदहरूले आलोचना गरेका छन् ।

बैठकको शुरुमा बोल्दै उप–प्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सांसद माधवप्रसाद सापकोटालाई लक्षित गरेर ‘सापकोटा परिवारको ग्याङ’ले आफूलाई मन्त्री बन्नबाट रोक्न प्रयास गरेको भन्दै आक्रोश पोखेका थिए । श्रेष्ठले सबैभन्दा धेरै काम आफूले गरेको भनेर चुरीफुरी देखाएका थिए ।

परराष्ट्रमन्त्री श्रेष्ठको कुराको जवाफ दिँदै सांसद माधव सापकोटाले औकातमा बस्न चेतावनी दिएका छन् । सापकोटाले परराष्ट्रमन्त्री श्रेष्ठले पटक पटक मन्त्री बनेर के खुल्क्याएको छ र ? भनेर आलोचना गरे । सापकोटाको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘कहिल्यै निर्वाचन जित्न नपर्ने, जहिले पनि मन्त्री चाहिने, गुट सञ्चालन गरेर पार्टीमा बार्गेनिङ गर्ने, ठूला कुरा गर्ने, सापकोटाको परिवारलाई ग्याङ भन्ने, जनयुद्ध नलडेर सबैभन्दा धेरै अवसर पाएको तपाई हो । आफ्नो औकात र मर्यादामा बस्नु होला । होइन भने कार्यकर्ताले तपाईलाई सबक सिकाउने छन् । सक्नु हुन्छ भनेर एकपटक जितेर देखाउनुस् ।’

सांसद सापकोटा र परराष्ट्रमन्त्री श्रेष्ठबीच भनाभन भएपछि प्रधानमन्त्री दाहालले स्थितिलाई नियन्त्रणमा लिनुपरेको थियो ।

राष्ट्रियसभाका सांसद मायाप्रसाद शर्माले उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतको आलोचना गर्दै मन्त्री भएको जानकारी कसैलाई पनि नरहेको बताए । शर्माको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘शक्तिबहादुर बस्नेतलाई पटक पटक मन्त्री चाहिने । उहाँले के काम गर्नुभयो ? शक्तिबहादुर बस्नेत मन्त्री बनेको जानकारी कसैलाई पनि छैन त ? यस्तो बेथिति पार्टी कहिलेसम्म रहन्छ ? यस्तै हो भने माओवादी पार्टी समाप्त हुन्छ ।’

सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले कमिशनको खेलमा लागेर नेपाल टेलिकमलाई समाप्त पारेको भनेर सांसदहरूले आलोचना गरेका छन् । नेपाल टेलिकमलको गुणस्तरलाई बिगारेर एनसेलको सेवालाई गुणस्तरीय बनाउने अभियानमा मन्त्री शर्मा लागेको भनेर सांसदहरूले आलोचना गरेको एक सांसदले बताए । मन्त्री शर्माका पति कृष्णध्वज खड्काले मन्त्रालय चलाएको र बिचौलियासँग साँठगाँठ गरेर नेपाल टेलिकम र सरकार निकायलाई ध्वस्त बनाएको आरोप लगाए ।

केही सांसदहरूले नेपाली कांग्रेससँगको गठबन्धन भत्काएर एमालेसँग नयाँ गठबन्धन बनाउँदा भविष्यमा समस्या हुने हो कि भनेर चर्चा गरेका थिए । उनीहरूले कांग्रेसले कोशी प्रदेशमा दिएको धोका र महामन्त्री गगन थापाको कुराले गठबन्धनलाई समस्या बनाएको धारणा राखेका थिए । गगन थापाका कारण गठबन्धन धरापमा परेर कांग्रेस सत्ताभन्दा बाहिर पुगेको माओवादीका सांसदहरूले बैठकमा धारणा राखेको एक सांसदले बताए ।

Published : Sunday, 2024 March 10, 1:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया