गृहमन्त्री लामिछानेमाथि कांग्रेसले उठायो प्रश्न, रास्वपाका नेताहरू चिन्तित

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेप्रति संकेत गर्दै अनुसन्धानको दायरामा तानिए राजीनामा दिन सुझाव दिएका छन् ।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा रोष्मबाट बोल्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक लेखकले अनुसन्धानको दायरमा जोसुकै तानिए मन्त्री पदबाट राजीनामा दिनुपर्ने बताए ।

उनले भने, ‘यो संसदमा एउटा कुरा भएको छ । कुनै मन्त्रीका माथि अनुसन्धान प्रारम्भ भयो, कुनै मन्त्रीका माथि यदि कुनै ठाउँबाट प्रश्न उठ्यो भने त्यो मन्त्रीले राजीनामा गर्नुपर्छ भनेर सदन अवरुद्ध भएको छ ।’

‘त्यो बालकुमारी घटनाको बारेमा होस् या अरु घटनाका बारेमा होस्’, उनले भने, ‘अब मेरो आशा के छभने अब नियुक्त भएर आउनु भएका मन्त्रीहरू कुनै पनि ठाउँबाट कुनै पनि किसिमको अनुसन्धानको दायराभित्र नपरेका होलान् भन्ने मैले आशा लिएको छु ।’

‘यदि परेका छन् भने अनि त्यसपछि सदन के हुन्छ भन्ने कुराको जवाफ पनि प्रधानमन्त्रीले दिँदा राम्रो हुन्छ भन्ने पनि मेरो आग्रह छ’, कांग्रेस नेता लेखकले भने ।

प्रतिनिधिसभाको बैठकमा केही दिन अगाडि एमाले, रास्वपा र राप्रपाका सांसदहरूले बालकुमारी घटना लगायत विभिन्न विषय उठाएर सदन अबरोध गरेका थिए ।

गृहमन्त्री बनेका लामिछाने पनि राहदान, नागरिकता कीर्ते काण्डमा मुछिएका छन् । सहकारी घोटाला काण्डमा पनि मुछिएका छन् । लामिछानेले ती विषयहरूमा अनुसन्धानमा सहयोग गर्न राजीनामा दिन्छन् वा दिँदैनन् कांग्रेसले प्रश्न उठाएको छ ।

गृहमन्त्री नपाए सरकारमा जान नसक्ने भनेर सरकार ढाल्ने धम्की दिएर लामिछानेले गृह मन्त्रालय लिएका छन् । लामिछानेले स्वार्थ बाझिएको मन्त्रालय लिएको भनेर आलोचना भइरहेको छ । कांग्रेसले सदनमा गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाएपछि रास्वपाभित्र आन्तरिकछलफलहरू भएका छन् ।

ग्यालेक्सी फेरके टेलिभिजनका बेला लामिछाने र गितेन्द्रबाबु राई (जिबी) पार्टनर थिए । सहकारी काण्डमा करोडौं घोटाला गरेर राई फरार छन् । राईका तत्कालीन पार्टनर गृहमन्त्री बनेका छन् । राईलाई पक्राउ गर्न प्रहरीले रेड नोटिस जारी गरेको छ । गृहमन्त्री लामिछानेले राईलाई बचाउन गृहमन्त्री लिएको त होइन प्रश्न उठेको छ ।

Published : Friday, 2024 March 8, 12:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया