लक्ष्मी, सुशीला र सुनिललाई अपराध प्रहरीद्वारा पक्राउ, ताहाचल लगियो

काठमाडौं । युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

युके पठाइदिन्छु भन्दै २९ लाख ८८ हजार रूपियाँ ठगी गरेको अभियोगमा मोरङको उर्लाबारी नगरपालिका–९ घर भई ललितपुर महानगरपालिका–२५ भैसेपाटी बस्ने ३४ वर्षीया लक्ष्मी लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

लिम्बुले ४ जनालाई वैदेशिक रोजगारीका लागि युके पठाई मासिक ४ लाख २० हजार रूपियाँ तलबमा केयर गिभरको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।

मीनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर भैसेपाटीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

यता, दुबई पठाइदिन्छु भन्दै ५ लाख ७५ हजार रूपियाँ ठगी गरेको अभियोगमा नवलपरको कावासोती नगरपालिका–१७ घर भई काठमाडौंको टोखा नगरपालिका–६ ग्राण्डी बस्ने ४४ वर्षीया सुशीला राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राईले २ जनालाई वैदेशिक रोजगारीका लागि दुबई पठाई प्रतिष्ठित कम्पनीमा सेक्युरिटी गार्डमा मासिक १ लाख रूपियाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।

मीनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको टोखा नगरपालिका–६ ग्राण्डीबाट पक्राउ गरेको हो ।

यता, माल्दिभ्स पठाइदिन्छु भन्दै ३ लाख ५० हजार रूपियाँ ठगी गरेको अभियोगमा म्याग्दीको बेनी नगरपालिका–४ घर भई काठमाडौंको टोखा नगरपालिका–६ बस्ने ३८ वर्षीय सुनिल शाहीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

शाहीले १ जनालाई वैदेशिक रोजगारीका लागि माल्दिभ्स पठाई प्रतिष्ठित कम्पनीमा ड्राइभिङमा मासिक ७० हजार रूपियाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

मीनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाएको छ ।

Published : Thursday, 2024 March 7, 7:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया