त्रिशूली बस दुर्घटनाप्रति कांग्रेसद्वारा गहिरो दु:ख व्यक्त, कार्यदल बनाउन माग

काठमाडौं । नेपाली कांग्रेसले सात जनाको ज्यान जाने गरी धादिङमा भएको बस दुर्घटनाप्रति गहिरो दु:ख व्यक्त गरेको छ ।

बुधबार शोक वक्तव्य जारी गरेर कांग्रेसले मृतकहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । कांग्रेसले उनीहरूको आत्माको चीर शान्तिको कामना गरेको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख २१२१ नम्बरको यात्रुवाहक बस पृथ्वी राजगमार्गको गुजरीस्थित घाटवेंसीमा बुधबार बिहान त्रिशूली नदीमा खस्दा एक महिलासहित ७ जनाको मृत्यु भएको थियो । ३० भन्दा बढी यात्रु घाइते भएका थिए ।

दुर्घटनाप्रति सभापति देउवाले गहिरो दु:ख व्यक्त गरेका हुन् । उनले भने, ‘मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’

देउवाले घाइतेहरूको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेका छन् ।

पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकोले तत्काल एक कार्यदल गठन गरी घटनाहरूको गहिरो अध्ययन गरेर यस्ता घटनाहरूलाई न्यूनीकरण गर्न/गराउन सभापति देउवाले सरकारको ध्यानाकृष्ट समेत गरेका छन् ।

Published : Wednesday, 2024 March 6, 8:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया