बागमतीमा पनि ढल्यो माओवादी सरकार, कांग्रेसको पक्षमा बहुमतको संकेत

काठमाडौं । नेपाली कांग्रेसले समर्थन फिर्ता लिएरपछि नेकपा (माओवादी केन्द्र) नेतृत्वको बागमती प्रदेशको सरकार अल्पमतसहित ढलेको छ ।

बुधबार हेटौँडामा कांग्रेसले मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र थमाएको छ । कांग्रेसका ६ जना मन्त्रीले सामूहिक राजीनामा बुझाएपछि माओवादी सरकार ढलेको छ ।

कांग्रेस संसदीय दलका नेता तथा आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले राजीनामा बुझाएका छन् ।

पुस २५ गते माओवादी केन्द्रको नेतृत्वमा एमाले र राप्रपाबीचको सरकार बनेको थियो । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि कांग्रेससँग गठबन्धन गरेपछि मुख्यमन्त्री जम्कट्टेलले चैत २६ गते २०७९ मा कांग्रेसलाई सरकारमा सहभागी गराएका थिए ।

आर्थिक मामिला तथा योजना मन्त्रालयमा बहादुरसिं लामा, खानेपानी तथा सिँचाइ मन्त्रालयमा तीर्थबहादुर लामा, वन तथा वातावरण मन्त्रालयमा मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयमा पुकार महर्जन, स्वास्थ्य मन्त्रालयमा उत्तम जोशी, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा रामकृष्ण चित्रकार मन्त्री बनेका थिए ।

बामगती प्रदेशमा माओवादी र एमालेको सरकार बन्ने सम्भावना निकै कम छ । मुख्यमन्त्री जमरकट्टेलले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । उनले विश्वासको मत लिन सकेनन् भने कांग्रेसले बहुमत पुर्‍याएर सरकार बनाउन सक्नेछ ।

Published : Wednesday, 2024 March 6, 7:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया