कांग्रेसका कारण प्रचण्ड सरकार अल्पमतमा, विश्वासको मत लिनुपर्ने

काठमाडौं । नेपाली कांग्रेसले नेकपा (माओवादी केन्द्र)का नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

मंगलबार काठमाडौंको बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

पत्रकारहरुसँग कुरा गर्दै उपसभापति धनराज गुरुङले भने, ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हामीले दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ ।’
कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालको सरकारले विश्वासको मत लिनुपर्ने भएको छ । सरकार अल्पमतमा परेपनि नयाँ गठबन्धनका कारण बहुमत पुग्नेछ ।

प्रधानमन्त्री दाहालले सोमबार नेकपा (एमाले)सँग नयाँ गठबन्धन गरेका छन् । दाहालले कांग्रेससहित सबै दलबाट बनेका मन्त्रीहरुलाई बर्खास्त गरेर नयाँ मन्त्रिपरिषद बनाएका छन् ।

गुरुङले भने, ‘हामीले पुष्पकमल दाहाललाई जुन समर्थन गरेका थियौँ, विश्वासको मत दिएका थियौँ, आजको बैठकबाट हामीले गरेको समर्थन फिर्ता लिएका छौँ ।’

कांग्रेसले इलाम र बझाङको चुनावका लागि दल दर्ता गर्ने निर्णय गरेको उपसभापति गुरुङले बताएका छन् ।

इलाम र बझाङको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ । कांग्रेसले वैशाखमा हुने उपनिर्वाचनमा एक्लै चुनाव लड्ने छ ।

Published : Tuesday, 2024 March 5, 7:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया