रवि लामिछानेका तत्कालीन पार्टनरलाई पक्राउ गर्न रेड नोटिस

काठमाडौं । फरार रहेका सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु राई(जीबी)विरुद्ध रेड नोटिस जारी भएको छ ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन ईन्टरपोलबाट राईविरुद्ध रेड नोटिस जारी भएको छ । माघ १३ गते राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ ।

राईलाई सहकारीका बचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरेको आरोप छ । राई ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्ष र मालिक हुन् । राईको टेलिभिजनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि तत्कालीन पार्टनर हुन् । लामिछाने पनि सहकारी काण्डमा मुछिएका छन् ।

डिफ्युजन नोटिशको आधारमा राई मलेशियामा लोकेट भएका छन् । मलेशियाबाट पक्राउ गरेर नेपाल ल्याउन नेपाल प्रहरीका नेशनल सेन्ट्रल व्यूरो (एनसिबी)ले रेड नोटिस जारी गर्न इन्टरपोल महासचिवालयलाई पत्राचार गरेको थियो ।

प्रहरीले राईसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । तीमध्ये १५ जना फरार छन् ।

बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपियाँ हिनामिना गरेको जाहेरीमा उल्लेख छ । उनीहरुलाई सहकारी ऐन अनुसार बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।

सूर्यदर्शनबाट जीबी राई समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

राईले सहकारी समस्याग्रस्त भएपछि बाजेको सेकुवाका संचालक चेतन भण्डारी र भेपदेखि मल तस्करमा मुछिएका पवनकुमार साहको कम्पनी चेनी क्यापिटललाई ललितपुरको भैसेपाटीस्थित २३ रोपनी ७ आना जग्गा बिक्री गरेका छन् । जुन जग्गा बचतकर्ताको रकम अपचलन गरी जीबीले खरिद गरेका थिए ।

Published : Tuesday, 2024 March 5, 9:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया