यी प्रदेशहरुमा कांग्रेसले बचाउन सक्छ सरकार

काठमाडौं । नेपाली कांग्रेससँगको गठबन्धन भत्काएर नेकपा (एमाले)सँगको नयाँ गठबन्धनमा पुगेपछि प्रदेश सरकारहरुमा पनि तरङ्ग आएको छ ।

सत्ताका लागि जोसँग पनि मिल्ने क्षमतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण केन्द्रदेखि प्रदेशसम्म असर पर्नेछ । केही प्रदेशमा एमाले र माओवादीको नयाँ गठबन्धनले सरकार बनाउन सक्छन् । केही प्रदेशमा नेपाली कांग्रेसकै सरकार बनाउन सक्छ । कांग्रेसको सरकार कोशी, वाग्मती र सुदूरपश्चिम प्रदेशमा बन्न सक्ने सम्भावना कायम छ । अलिकति मेहनत गर्ने हो भने गण्डकी प्रदेशमा पनि कांग्रेसको सरकार बच्न सक्छ ।

कोशी प्रदेशमा ९३ सदस्य छन् । नयाँ गठबन्धनलाई बहुमत पुग्छ । एमालेका ४०, माओवादीका १३ र जसपाको १ सिट छ । कोशी प्रदेशमा नयाँ गठबन्धनलाई सरकार बनाउन समस्या छैन । कोशी प्रदेशमा कांग्रेसका २९ सांसद छन् । राप्रपाका ६ र नेकपा (एकीकृत समाजवादी)का ४ प्रदेशसभा सदस्य छन् ।

मधेश प्रदेशसभा १ सय ७ सदस्यीय छ । एमालेसँग २३ सिट छ । जसपासँग १८ र माओवादीसँग ९ सिट छ । प्रदेशसभामा नयाँ गठबन्धनको ५० सिट मात्र पुग्छ । नयाँ गठबन्धनलाई सरकार बनाउन ४ सिट आवश्यक पर्नेछ । नेकपा (एकीकृत समाजवादी)सँग ७ सिट छ । जनमत पार्टीसँग १३ सिट छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग ९ सिट छ ।
नयाँ गठबन्धनलाई जनमत पार्टी, एकीकृत समाजवादी वा लोसपामध्ये एउटा दलको समर्थन आवश्यक पर्छ ।

मधेश प्रदेशमा स्वतन्त्र ३, संघीय समाजवादीको एक, नागरिक उन्मुक्ति पार्टीका ३ सिट छन् । उनीहरुको समर्थन पाउने हो भने नयाँ गठबन्धनलाई सरकार बनाउन सक्ने सम्भावना छ । मधेश प्रदेशमा नेपाली कांग्रेसका २३ सिट छन् । राप्रपाको १ सिट छ ।

वाग्मतीमा प्रदेशमा १ सय १० सदस्य रहेको छ । नयाँ गठबन्धनलाई सरकार बनाउन निकै चुनौती छ । अहिले माओवादी नेतृत्वको सरकार छ । वाग्मती प्रदेशमा एमालेसँग २७ र माओवादीसँग २१ सिट छ । वाग्मती प्रदेशसभामा बहुमतका ५६ सिट आवश्यक पर्छ । नयाँ गठबन्धनलाई नेकपा (एकीकृत समाजवादी)ले ७ सिट दिए पनि सरकार बनाउन गाह्रो हुन्छ । वाग्मती प्रदेशसभामा नेमकिपा ३ र हाम्रो नेपाली पार्टीका २ सिट छन् । वाग्मतीमा कांग्रेसको ३७ र राप्रपाको १३ सिट छ । वाग्मती प्रदेशमा कांग्रेसले सरकार बनाउन सक्ने सम्भावना निकै ठूलो छ ।

६० सदस्यीय रहेको गण्डकी प्रदेशमा कांग्रेसको सरकार छ । गण्डकी प्रदेशमा कांग्रेससँग २७ सिट छ । सरकार बचाउन अझै ४ सिट आवश्यक पर्छ । राप्रपासँग २ सिट छ । नेकपा (एकीकृत समाजवादी)सँग १ सिट छ । गण्डकीमा एमालेका २२, माओवादीका ८ सिट छन् । कांग्रेस र नयाँ गठबन्धनले गण्डकी प्रदेशमा जोखिमपूर्वक सरकार बनाउन सक्छन् ।

लुम्बिनी प्रदेशमा ८७ सिट संख्या छ । लुम्बिनीमा कांग्रेसको सरकार छ । कांग्रेससँग २७ सिट छ । एमालेसँग २९ सिट छन् । माओवादीसँग ११ र जसपासँग ३ सिट छ । एमाले, माओवादी र जसपाको कुल ४३ सिटका साथ सरकारको नजिक पुग्न सक्छन् । सरकार बनाउन ४४ सिट आवश्यक पर्छ । लुम्बिनीमा जनमोर्चाका १ र नेकपा (एकीकृत समाजवादी)का १ सदस्य छन् । लुम्बिनीमा नागरिक उन्मुक्ति पार्टीका ४, लोसपाका ३ सदस्य छन् । एकजना स्वतन्त्र सदस्य छन् ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार बनाउन २१ सिट आवश्यक पर्छ । कर्णालीमा माओवादीको सरकार छ । माओवादीसँग १३ सिट छ । एमालेसँग १० सिट छ । कर्णालीमा माओवादीलाई सरकार बचाउन पर्याप्त संख्या छ । कर्णालीमा कांग्रेसका १४, राप्रपाका १, नेकपा (एकीकृत समाजवादी)का १ र स्वतन्त्रका १ सांसद छन् ।

५३ सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसको सरकार छ । कांग्रेससँग १८ सिट छ । सरकार बनाउन २७ सिट आवश्यक पर्छ । माओवादीसँग ११ र एमालेको १० सिट गरी २१ सिट छ । सरकार बनाउन सुदूरपश्चिम प्रदेशमा ७ सिट छ । नागरिक उन्मुक्ति पार्टीले सरकार बनाउन नयाँ गठबन्धनलाई सहयोग गर्नुपर्छ । नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रका १ सिट छ ।

Published : Tuesday, 2024 March 5, 8:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया