शालिन पोखरेलको यस्तो आयो रिपोर्ट

काठमाडौं । चितवनमा झुण्डिएर मृत्यु भएकी १४ वर्षीया शालिन पोखरेलको पोस्टमार्टमको रिपोर्ट आएको छ ।

पोखरेलको चितवनको रत्नगर नगरपालिका-१० स्थित शिशु निकेतन माविको छात्राबासमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो । शव भेटिएपछि आफन्त, शुभेच्छुक र अधिकारवादीहरूले दोषीलाई कारबाहीको माग गरेर आन्दोलन चलाएका छन् ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भएको पोष्टमार्टमको रिपोर्टमा पोखरेलको मृत्यु झुण्डिएका कारण भएको देखिएको प्रहरी स्रोतले जनाएको छ ।

आफन्तले बलात्कारको आशंका गरेकाले चिकित्सहरुले शालिनको संवेदनशील अंगको पनि जाँच गरेका थिए ।

स्काउटको डोरीमा होस्टलको कोठाभित्र झुण्डिएको अवस्थामा १२ फागुनमा पोखरेलको शव भेटिएको थियो ।

पोखरेलको कोठामा सुसाइड नोट पनि प्रहरीले भेटेको छ । सुसाइड नोटको पनि चेकजाँच पनि गर्ने प्रहरीले जनाएको छ ।

प्रहरीले सुसाइड नोटको नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा जाँच गर्ने उल्लेख गरेको छ ।

किशोरीको पुरानो नोट बुकहरू मगाएर सुसाइड नोट पनि ल्याबमा पठाइसकेको प्रहरीले जनाएको छ ।

पोखरेलको मृत्यु प्रकरणमा विद्यालयका प्रिन्सिपल ६० वर्षीय बालहरि देवकोटा, सहायक प्रिन्सिपल ४० वर्षीय किरणबहादुर अधिकारी र होस्टल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरू विरुद्ध प्रहरीले ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न अदालतबाट ७ दिनको म्याद लिएको छ ।

Published : Sunday, 2024 March 3, 5:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया