प्रभु बैंकबाट सेन्चुरी बैंकका दुई पूर्व सीईओहरू पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले सेन्चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा हाल प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेलाई पक्राउ गरेको छ ।

सीआईबीले सेन्चुरी बैंकका पूर्व सीईओ तुलसीराम गौतमलाई पनि पक्राउ गरेको छ । सीआईबी प्रमुख (एआईजी) किरण बज्राचार्यले बैंकका पूर्व सीईओद्वय मनोज न्यौपाने र तुलसीराम गौतमलाई अनुसन्धानका लागि पक्राउ गरिएको बताएकी छिन् ।

सेन्चुरी बैंक हाल प्रभु बैंकमा गाभिएको छ । सेन्चुरी बैंकको सीईओ हुँदा कर्जा प्रवाहमा कमजोरी गरेको पाइएपछि न्यौपानेलाई पक्राउ गरिएको छ ।

सेन्चुरी प्रभु बैंकमा गाभिएपछि न्यौपाने वरिष्ठ डेपुटी सीईओमा कार्यरत छन् । सेन्चुरीका तत्कालीन सीईओ गौतमले राजीनामा दिएपछि न्यौपानेले नै निमित्त सीईओको जिम्मेवारी पाएका थिए ।

तत्कालीन सेन्चुरी कमर्सियल बैंकका विभिन्न शाखाबाट कमसल धितो राखेर अनियमित रुपमा कम्तीमा दुई अर्ब कर्जा प्रवाह भएको भेटिएको छ ।

अनुुसन्धानका क्रममा तीन वटा कम्पनीलाई कमसल धितो राखेर कर्जा प्रवाह गरेको भेटिएपछि बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित १० जना पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

पक्राउ पर्ने अन्यमा हाल प्रभु बैंकमा कार्यरत कर्मचारी दिलिप बराल, दीपेश प्रधान, रमण श्रेष्ठ र राजेश भण्डारी पनि रहेको बुझिएको छ । केही कर्मचारीको नाम खुल्न बाँकी छ । केहीलाई प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

Published : Tuesday, 2024 February 27, 1:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया