कसरी छिरे नाराबाजी गर्दै संसद भवन परिसरमा मानिसहरु ? गृहमन्त्री श्रेष्ठको असक्षमता देखियो

काठमाडौं । कथित लघुवित्त पीडितहरूले संघीय संसद भवन परिसरमा प्रवेश गरेर उत्पात मच्चाएका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा प्रवेश गरेर नाराबाजी भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले घटनाको छानविन र अनुसन्धान गर्न एसएसपी दिनेश मैनालीको नेतृत्वमा छानबिन समिति गठन भएको छ ।

उनीहरूले सुरक्षा घेरा तोडेर संघीय संसद भवन परिसर प्रवेश गरेपछि प्रहरीले छानबिन समिति गठन गरेको छ ।

एसएसपी मैनालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको छ । समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारी र रानीपोखरीमा कार्यरत डीएसपी दिनेश घिमिरे सदस्य छन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले माइतीघरदेखि बानेश्वरस्थित संसद भवन आसपास निषेधित क्षेत्र तोकेको छ ।

उनीहरू सुरक्षाकर्मीलाई छलेर संसद भवन परिसरमा पुगेका थिए । त्यहाँ पुगेर उनीहरूले नाराबाजी पनि गरेका थिए ।

निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले ४८ महिला र एक पुरूषसहित ४९ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरू कसरी संसद भवन परिसरमा पसे भन्ने विषयमा समितिले छानबिन गर्नेछ ।

उनीहरूले कालोसूची तथा धितो लिलाम फुकुवा गर्नुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने, गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने जस्ता माग राखेर प्रदर्शन गर्दै आइरहेका छन् ।

प्रहरीले छानविन गर्न समिति बनाए पनि त्यसको जिम्मेवारी कसले लिनुपर्ने हो ? संसद भवनका प्रहरीलाई मात्रै हटाएर वा कारबाही गरेर केही हुनेवाला छैन । मुख्य नेतृत्वले जिम्मेवारी लिनुपर्छ ।

प्रदर्शनकारीहरु कसरी र किन संसद भवन परिसरमा प्रवेश गरेका हुन् ? प्रश्न उठेको छ । उनीहरुले प्रदर्शन गर्दै आएको सूचना प्रहरीलाई किन भएन ? यो विषय निकै गम्भीर रुपमा उठेको छ ।

गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले यो घटनाको जिम्मेवारी लिएर राजीनामा दिनुपर्छ । यस्तो खालको घटना यो पहिलो होइन । यसअघि ललितपुरको बालकुमारीमा पनि सुरक्षाको लापरबाही हुँदा दुई जनाको ज्यान गइसकेको छ ।

केही दिन अगाडि खुलामञ्चमा पनि प्रहरीले पूर्वसर्तकता अपनाउन नसक्दा केही मानिसहरु घाइते भएका थिए । काठमाडौं प्रहरीले बस्तुस्थितिको मूल्यांक, अनुगमन र पूर्वतयारी किन गर्न सकिरहेको छैन ? गम्भीर प्रश्न उठेको छ ।

संसद भवनको परिसरमा ती प्रदर्शनकारी छिर्ने कुराको सूचना वा उनीहरुको रोकथाम गर्ने विषयमा प्रहरी नेतृत्वले सहि समयमा सहि तरिकाले सुरक्षा रणनीति बनाउन नसकेका कारण घटना भएको हुन सक्ने सांसदहरुको भनाइ छ ।

Published : Tuesday, 2024 February 27, 9:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया