अदालतद्वारा विद्यालय नजिक कर्णाली एक्स्पो नगर्न आदेश, मेयर ढकाल नाङगिइन्

वीरेन्द्रनगर । उच्च अदालत सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाको कार्यालयसमेतलाई कर्णाली एक्स्पो सञ्चालन सम्बन्धी कार्य नगर्नु/नगराउनु भनेर अलपकालीन अन्तरिम आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश माधव धितालको एकल इजलासले कर्णाली एक्स्पो सञ्चालन हुने स्थान १० मिटरको दुरीमा बालमन्दिर विद्यालय रहेको भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

आदेशमा भनिएको छ, ‘कर्णाली एक्स्पो सञ्चालन हुने स्थानबाट १० मिटरको दुरीमा बालमन्दिर विद्यालय रहेको, मिति २०८० चैतको १ गतेदेखि विद्यालयको वार्षिक परीक्षा हुन लागेकोमा परीक्षाको मुखैमा विद्यालय क्षेत्रमा नै कर्णाली एक्स्पो सञ्चालन हुन लागेको भन्ने रिट निवेदनबाट देखिएकोले बालमैत्री वातावरणमा शिक्षा पाउने बालबालिकाको संवैधानिक तथा कानूनी अधिकार समेतलाई मध्यनगर गर्दै मिति २०८०/११/१४ सम्म कर्णाली एक्स्पो सञ्चालनसम्बन्धी कार्य नगर्नु/नगराउनु, यथास्थितिमा राख्नु भनि विपक्षीहरूको नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरम आदेश जारी गरिदिएको छ ।’

वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकाल र नेपाल उद्योग वाणिज्य संघ, सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलको मिलोमतो तथा स्वार्थमा सामुदायिक विद्यालयको पठन पाठन प्रभावित गर्नेगरि महोत्सव लगाउन लागेका थिए ।

मेयर ढकालले उद्योग वाणिज्य संघलाई तेस्रो ‘कर्णाली एक्सपो २०८०’ फागुन १४ गतेदेखि २२ गतेसम्म वीरेन्द्रनगरको वडा नं. ८ मा महोत्सव गर्न अनुमति दिएकी थिइन् । मेयर ढकालको निर्णयलाई अदालतले रोकिदिएको छ ।

सामुदायिक विद्यालयकै छेउमा मेला महोत्सव लगाउन अनुमति दिएपछि मेयर ढकालको विरोध भइरहेको छ ।

तेस्रो ‘कर्णाली एक्सपो २०८०’ ले विद्यालयको पठनपाठनमा अवरुद्ध हुने भन्दै बिहीबार अदालतमा रिट दायर गरिएको थियो ।

बाल मन्दिर प्राथमिक विद्यालयको १० मिटर नजिक रहेको मैदानमा महोत्सव चल्ने भएपछि पढाइ अवरोध हुने भन्दै अधिवक्ता प्रकाशबावु ऐडीले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका हुन् ।

बालबालिकाको क्षेत्रमा आवाज उठाउने संघ/संस्था यस पटक बोलेनन् । विद्यालयकै छेउमा महोत्सव हुन लागेको विषयमा अधिकारकर्मीहरू नबोलेर दुलाभित्र बसेका छन् ।

Published : Friday, 2024 February 23, 11:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया