महिलाहरूलाई वडादेखि केन्द्रसम्म ३३ प्रतिशत अधिकार दिनुपर्छ : सभापति डा.राणा

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले कांग्रेस पार्टीको सबै तहमा महिलाहरूको ३३ प्रतिशत उपस्थितिको माग गरेकी छिन् ।

शुक्रबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा कांग्रेसका महिला महासमिति सदस्यहरूको स्वागतमा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा डा.राणाले वडा, पालिका, प्रदेशदेखि केन्द्रसम्म महिलाको ३३ प्रतिशत उपस्थिति हुनुपर्ने बताइन् । उनले संविधानले दिएको अधिकारलाई व्यवहारमा लागू गर्नुपर्ने बताएकी छिन् ।

उनले भनिन्, ‘महासमितिको बैठकमा दुई वटा ईश्यु उठाएका छौँ । पार्टीभित्र कै संरचनामा ३३ प्रतिशत महिला हुनै पर्ने । ग्रासरुट लेबलदेखि ।’

‘वडादेखि केन्द्रसम्म हाम्रो पार्टीमा ३३ प्रतिशत महिला हुनुपर्छ । हाम्रो चुनावको सिष्टम कस्तो हुने ? मिश्रित प्रणाली रहने कि नरहने’, उनले प्रश्न गरेकी छिन् ।

‘मिश्रित निर्वाचन प्रणाली रहनुपर्छ । डाइभर्स कम्युनिटी भएको देशमा सबै जना चुनावबाट आउन सक्दैनन्’, डा.राणाले भनिन्, ‘सबैलाई समावेशी गर्ने ठाउँ कहाँ हो ? प्रश्न उठेको छ ।’

कार्यक्रममा कांग्रेसका नेतृहरू उमा रेग्मी, सरिता प्रसाइँ, सीता गुरुङ, पुष्पा भुसाल, कान्तिका सेजवाल, रंगमती शाही, विष्णु परियार, सरस्वती अर्याल लगायतको उपस्थिति रहेको थियो ।

Published : Friday, 2024 February 23, 10:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया