सभापति देउवाद्वारा नेता कार्यकर्तासँगै २ घण्टा बिताए, भोजनको प्रशंसा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्ताहरूसँग करीव दुई घण्टा विताएका छन् ।

ललितपुरको गोदावरीस्थित सनराईज सभाहलको बाहिर कम्पाउण्डमा देउवाले दुई घण्टा विताएका हुन् । सभापति देउवा बसेको टेबल नजिकै महासमिति सदस्यहरूको लागि भोजनको व्यवस्था गरिएको थियो ।

महासमिति सदस्यहरूका लागि तयार पारिएको भोजन सभापति देउवाले महासमिति सदस्यहरूसँगै बसेर खाएका छन् ।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार सभापति देउवाले महासमितिको बैठक अबधीभरि महासमिति बैठकस्थलमा नै भोजन लिएको बताए ।

सभापति देउवाले महासमिति सदस्यहरूलाई खुवाइएको भोजनको गुणस्तर चेकजाँचका लागि पनि आफै भोजनको व्यवस्थापन गरिएको स्थानमा बसेर भोजन गर्नुका साथै सोधिखोजी गरेका हुन् ।

सभापति देउवा भोजनका क्रममा दुई घण्टा विताउँदा नेता डा.शशांक कोइरालासँगै बसेका थिए । डा.कोइराला पनि झण्डै दुई घण्टा साथमा बसेका छन् ।

सभापति देउवासँग नेता कार्यकर्ताले तस्बिर खिचाउनुका साथै आफ्ना कुराहरू पनि राखेका थिए ।

सभापति देउवा बसेको स्थानमा केन्द्रीय सदस्य एवम् भोजन व्यवस्थापन उप–समितिका संयोजक उदयशम्शेर राणा, भक्तपुर कांग्रेसका सभापति एवम् प्रतिनिधिसभाका सांसद दुर्लभ थापा, स्वयम् सेवक परिचालन उप–समितिका संयोजक एवम् केन्द्रीय सदस्य जीतजंग बस्नेत, नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ, ललितपुर कांग्रेसका सभापति जितेन्द्र श्रेष्ठ पनि सँगै बसेका थिए ।

कांग्रेसले महासमिति सदस्यहरूका लागि भोजनको व्यवस्था निकै व्यवस्थित तरिकाले गरेको थियो । भोजनमा साकाहारीको पनि व्यवस्था थियो । मुस्लिम समुदायलाई ‘हलाल’ मासुको व्यवस्था थियो । मासु खान चाहनेका लागि पनि व्यवस्था रहेको थियो ।

अनुपम फुण्डल्याण्ड एण्ड व्याङ्केट प्रा.लि., बत्तिसपुतली, काठमाडौंले भोजनको जिम्मेवारी लिएको थियो । अनुपमको व्यवस्थापनले निकै मेहनतका साथ गुणस्तरीय भोजन खुवाएको जनाएको छ ।

भोजन व्यवस्थापन उप–समितिका संयोजक एवम् कांग्रेस नेता उदयशम्शेर राणा भोजनको व्यवस्थापन भएको स्थान र पकाउने ठाउँमा पुगेर आफैले अनगुमन गरेका थिए ।

Published : Friday, 2024 February 23, 10:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया