एसपी ज्ञवालीले नेतृत्व सम्हालेको तेस्रो दिनमा ठूलो परिमाणमा गाँजा बरामद

मलंगवा । सर्लाही जिल्लामा प्रहरीले १ सय १६ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।

बागमती नगरपालिका–३ नयाँ बस्ती चोकबाट लागूऔषध गाँजा १ सय १६ किलोसहित ३० वर्षीय सुर्य परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख (एसपी) दयानिधि ज्ञवालीले बताए । पक्राउ पर्ने परियार नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका–११ निवासी हुन् ।

बिहीबार जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले बा.प्रदेश ०१–०२६ च ५१५९ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारभित्र १० वटा पोकामा रहेको गाँजा फेला पारी परियारलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

गाँजासहित मानिस पक्राउ परेको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको एसपी ज्ञवालीले बताएका छन् । बरामद भएको गाँजा अबैध मार्ग हुँदै विदेश पठाउनको लागि तयारी पारिएको हुन सक्ने एसपी ज्ञवालीले बताएका छन् । बरामद भएको गाँजा उच्च गुणस्तरको रहेको अनुमान प्रहरीको छ ।

एसपी ज्ञवालीले सर्लाही जिल्लाको नेतृत्व सम्हालेको तेस्रो दिनमा ठूलो परिमाणमा गाँजा बरामद भएको छ ।

Published : Friday, 2024 February 23, 8:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया