महासमितिमा प्राप्त सुझावलाई केन्द्रीय समितिबाट प्रतिवेदनमा परिमार्जन गरिनेछ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकबाट पार्टी वैचारिक रूपमा समृद्ध र सङ्गठनात्मक रूपमा सबल बनेको बताएका छन् ।

बिहीबार ललितपुरको गोदावरीमा महासमिति बैठकको समापन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले महासमिति बैठकबाट पार्टी वैचारिक रूपले समृद्ध र सङ्गठनात्मक रूपले सबल भएको सन्देश प्रवाह भएको बताए ।

उनले पार्टी अनुशासित, ऊर्जावान् र एकताबद्ध बनाउने सन्देश पनि प्रवाह भएको बताए । उनले महासमिति बैठकले नेपाल र नेपाली कांग्रेसको राजनीतिमा एक विशिष्ट ऐतिहासिक महत्व राख्ने बताए ।

सभापति देउवाले महासमिति बैठकपछि नेपाली कांग्रेसप्रति थप विश्वास गर्ने वातावरण बनेको बताएका छन् । देउवाले कांग्रेस सत्तारुढ गठबन्धनको प्रमुख घटक भएको भन्दै मुलुकमा सुशासन, विकास र समृद्धि ल्याउन सरकारलाई सहयोग गर्नु मुख्य दायित्व हुने बताएका छन् ।

‘महासमितिबाट गरिएका नीतिगत उद्घोष देशमा सकारात्मक तथा अग्रगामी परिवर्तनको आधार बनेका छन्’, उनले भने । ‘हामी यो गौरवशाली इतिहासलाई निरन्तरता दिन चाहन्छौँ । देशभित्र मात्रै होइन नेपाली कांग्रेसले गर्ने नीतिगत निर्णयहरू अन्तर्राष्ट्रिय जगतमा पनि ठूलो महत्व राख्दछ’, देउवाले भने, ‘नेपाली कांग्रेस देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी हो ।’

उनले भने, ‘हाम्रा नीति, कार्यक्रम र व्यवहार लोकतान्त्रिक मूल्यमान्यता, समय सापेक्ष, दूरदर्शी र जिम्मेवार हुने भएको हुँदा हामीले यो अवसर र गौरव प्राप्त गरेका हौँ । महासमितिको बैठकबाट देशभित्र र बाहिर रहनुभएका सबै नेपाली कांग्रेसप्रति थप विश्वास गर्ने वातावरण बनेको छभन्ने मैले विश्वास गरेको छु ।’

उनले भने, ‘नेपाली कांग्रेस वर्तमान गठबन्धनको सरकारको प्रमुख घटकको रूपमा मुलुकमा सुशासन, विकास, समृद्धि ल्याउन सरकारलाई निरन्तर सहयोग गर्न राष्ट्रहितमा काम गर्न प्रोत्साहन गर्ने हाम्रो मुख्य दायित्व हो ।’

‘यो नेपाली कांगेसलाई वैचारिक रूपले समृद्ध, सङ्गठनात्मक रूपले सबल, अनुशासित, ऊर्जावान् र एकताबद्ध बनाउने सन्देश प्रवाह भएको छ’, देउवाले भने, ‘यो बैठक नेपाल र नेपाली कांग्रेसको राजनीतिमा एक विशिष्ट ऐतिहासिक महत्त्व राख्नेछ भन्ने विश्वास लिएको छु ।’

सभापति देउवाले महासमितिमा प्राप्त सुझावहरूलाई आगामी केन्द्रीय समिति बैठकमा छलफल गरी प्रतिवेदनलाई परिमार्जन गरिने बताएका छन् ।

Published : Thursday, 2024 February 22, 11:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया