युवतीसँग गैरकानूनी हर्कत गरेपछि व्यूरोद्वारा थापा काठमाडौंमा पक्राउ

काठमाडौं । सामाजिक संजालमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा २७ वर्षीय किरण थापालाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक संजालमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा नुवाकोटको शिवपुरी गाउँपालिका–४ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–११ बानियाटार बस्ने थापालाई बुधबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत गोप्य फोटो तथा भिडियो सामग्री एकआपसमा साटासाट भएको आरोप लागेको छ ।

उनीहरूका बीच सम्बन्ध विग्रिएपछि पीडकले फोटो एवम् भिडियो पीडितका आफन्त तथा परिवारजनमा पठाई चरित्रहत्या समेत गरेको भन्ने पीडित महिलाको उजुरी साइबर व्यूरो भोटाहिटीमा परेको छ ।

व्यूरोबाट खटिएको प्रहरीले अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा थापाको संलग्नता खुल्न आएपछि गोंगबुबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका थापालाई आवश्यक कारबाहीको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

Published : Thursday, 2024 February 22, 10:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया