गठबन्धन गर्नै नपर्ने गरी संगठन गरौँ, अलमल गर्नुपर्ने आवश्यक्ता छैन : अर्थमन्त्री डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा.प्रकाशशरण महतले गठबन्धन गर्नै नपर्ने गरेर संगठन गर्नुपर्ने बताएका छन् ।

बिहीबार ललितपुरको गोदावरीमा महासमिति बैठकको समापन कार्यक्रमलाई सम्बोधन गर्दै डा.महले भने, ‘महासमिति बैठक उर्जाशील पार्टी बनाउन हाम्रो एकता जरुरी छ ।’

‘एकअर्काको आलोचनाभन्दा विपक्षीले के गरिरहेका छन् ? कस्तो खालको बदमासी गरिरहेका छन् ? कस्तो खालको प्रवृत्ति देखाइ रहेका छन् ?’, उनले प्रश्न गर्दै भने, ‘त्यतातिर हाम्रो विरोध, समालोचना, आलोचना केन्द्रित गरौँ ।’

उनले भने, ‘हामी वडादेखि, टोलदेखि केन्द्रसम्म संस्थागत रुपमा नियमित रुपमा छलफल गरौँ । बहस गरौँ । निर्णय गरौँ । निर्णय गरिसकेपछि संस्थागत निर्णयलाई पार्टी सभापतिदेखि टोल सभापति र पदाधिकारी सम्पूर्णसम्मले एउटै स्वरले संस्थागत विचार लिएर जनताको बीचमा जाऔँ । त्यो भयो भने जनता दुविधामा पर्दैन । एउटा सुस्पष्ट सन्देश नेपाली कांग्रेसको तर्फबाट जान्छ ।’

‘त्यो अवस्थामा अहिले हामी जुन गठबन्धन पछि गर्ने कि नगर्ने ? गर्नुपर्छ कि पर्दैन ? भनिरहेका छौँ । गठबन्धन गर्नै नपर्ने, गरेर संगठन निर्माण गरौँ । गठबन्धन गर्नै नपरोस् भनेर संगठन निर्माण गरौँ । के गर्ने ? कसो गर्ने ? भन्ने विषयमा हामी धेरै अलमल गर्नुपर्ने आवश्यक्ता छैन’, प्रवक्ता डा.महतले भने ।

‘हामीले त्यस्तो खालको संगठन निर्माण गरौँ जहाँ युवादेखि प्रौढसम्म, महिला, आदिवासी जनजाति, दलित, मधेश, विभिन्न, वर्ग, समुदाय, क्षेत्रका नागरिकलाई जोड्न सकौँ’, उनले भने ।

अर्थमन्त्री डा.महतले भने, ‘अहिले झुठको थुतुनो चलेको छ । झुठो बोल्नेको अगाडि हामी आफ्ना कुराहरू जनताको बीचमा राख्नु पर्छ । सत्य कुरा जनताका सामु राख्नुपर्छ । झुठो कुरा जनताको बीचमा स्थापित गर्न खोज्दै छन् ।’

Published : Thursday, 2024 February 22, 9:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया