चुनाव नआउँदै गठबन्धन भनेको छ, हल्ला गरेको छ, हाउगुजी गरेको छ : मुख्यमन्त्री चौधरी

गोदावरी । नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ०८४ को गठबन्धनको कुरा अहिले उठाएर हाउँगुजी बनाएको बताएका छन् ।


महासमितिको बैठकअन्तर्गत बिहीबार ललितपुरको गोदावरीमा समूहगत छलफलमा सहभागी हुँदै चौधरीले अहिले संगठन गरेर ०८४ को चुनावभन्दा अगाडि गठबन्धनको कुरा गर्न सुझाव दिए । उनले भने, हामीले यो गठबन्धनका कुरा भनिरहेका छौँ । गठबन्धन भनेको चुनावमा गर्ने कुरा हो । चुनाव अगाडि छलफल गर्ने कुरा हो ।’


‘त्यस्तो सक्षम लिडर खोजौँ जसले हामीलाई सहि बाटोमा डोर्‍याओस् । अहिले नै गठबन्धन हुन्छ कि हुँदैन ? ०८४ मा चुनाव छ, संगठनको कुरा छ, अहिले गठबन्धनका कुरा छन् । हामी कुन बाटोमा हिँड्दैछौँ’, मुख्यमन्त्री चौधरीले भने ।

‘अहिले संगठन बनाउने कि गठबन्धनका कुरा गर्ने ? अहिले नै चुनाव आइसक्यो र ? हामीले पदाधिकारीमा सक्षम भनेर जिताएका छौँ’, उनले भने, ‘०८४ मा जे डिसिजन ल्याउनु हुन्छ केन्द्रीय कार्यसमितिले देश र परिस्थिति बुझेर गठबन्धन गर्ने हो ।’
मुख्यमन्त्री चौधरीले भने, ‘चुनाव नआउँदै गठबन्धन भनेको छ, हल्ला गरेको छ । सबैलाई रुखमा भोट हाल्ने मन लाग्छ । चार तारे झण्डा सधैँ फहराइ रहोस्, रुख कहिले नढालोस् ।’


‘तदारुकताका साथ संगठन बनाउन जुटौँ । गठबन्धनको हाउँगुजी बनाएर अतिरञ्जित नगरौँ । आफूले आफैलाई आत्मसात गरेर सोँचौँ । हामी कहाँ छौँ सबैले पार्टी विगारेको तपाई हामीले हो’, मुख्यमन्त्री चौधरीले भनेका छन् ।


‘सक्रिय सदस्यता दिने बेला घरघरमा दिने । आफ्नो श्रीमतीलाई दिने, आफ्नो छोराछोरीलाई चाहियो, बुहारीलाई चिाहियो । अहिले किन रिन्यू भइरहेको छैन ?’, चौधरीले भने, ‘किन भने चुनाव आएको छैन । चुनाव आउँदा सबैको सक्रिय सदस्य आठ लाख होइन १६ लाख हुन्छन् । चुनावमा क्याम्पेनिङ गर्दा सक्रिय सदस्यहरू खोइ ? छैनन् ।’


उनले भने, ‘ दलितको घरमा कसरी पुग्ने ? रणनीतिक रुपमा पहिला को कहाँ पुग्ने ? जनजातिको घरमा कसरी पुग्ने ? त्यो रणनीतिका कुरा गर्दैनौँ । हाउगुजीका मात्रै कुरा गर्छौं ।’

चौधरीले भने, ‘यो गठबन्धनको कुरा ०८४ मा गर्नुस् । हामी विश्वास गर्छौ केन्द्रीय कार्यसमितिले देश र परिस्थितिअनुसार कोसँग गर्ने ? माओवादीसँग कुरा होला ? त्यहि बेला कुरा गरौँला । संगठन गरौँ ।’


मुख्यमन्त्री चौधरीले नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा बनेको संविधान कार्यान्वयन गर्ने विषयमा कसैले नबोलेको बताए । उनले संविधान असफल बनाउन केही तत्व लागेको भन्दै संविधानको रक्षा र कार्यान्वयनका लागि कांग्रेसले नेतृत्व लिनुपर्ने बताए ।


‘सुशील कोइरालाको नेतृत्वमा बनेको संविधान कार्यान्वयनमा कसैले बोल्नु हुन्न । हाउगुजीका कुरा बाहेक केही छैन । प्रदेशले केन्द्रलाई अधिकार दिएको छैन । गाली खाने प्रदेशले मात्रै हो ? विकास हामीलाई आफ्नै घर अगाडि चाहिएको छ । डोजरको विकास चाहिएको छ । संविधाको रक्षाका लागि कसले नेतृत्व गर्ने ? यसैगरी कांग्रेसले संविधान कार्यान्वनयमा ध्यान नदिने हो भने संविधान फेल हुन सक्छ ।’

Published : Thursday, 2024 February 22, 11:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया