कांग्रेसको महासमिति बैठक समापन साढे दुई बजे, बिहानैदेखि छलफल शुरु

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा समूहगत छलफल सम्पन्न भएपछि आजै समापन हुनेछ ।

ललितपुरको गोदावरीमा जारी महासमितिको बैठक छलफलबाट आएका सुझाव प्रस्तुतिपछि समापन हुन लागेको हो । समूहगत छलफलमा बोल्न बाँकी सदस्यहरूले बिहान ८ देखि १० बजेसम्म धारणा राख्नेछन् । दिउँसो साढे दुई बजेदेखि महासमिति बैठकको समापन कार्यक्रम हुनेछ ।

बुधबार पाँच वटा प्रतिवेदनमा समूहगत रूपमा छलफल भएको थियो । महासमिति बैठकको अन्तिम दिन बिहीबार बिहान समूहगत छलफलबाट प्राप्त भएका सुझाव पार्टीका प्रदेश सभापतिहरूले पदाधिकारीसहितको उपस्थितिमा हुने बैठकमा प्रस्तुत गरेपछि समापन समारोह हुनेछ ।

महासमिति बैठकको दोस्रो दिन फागुन ८ गते पार्टीका उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रवक्ता डा.प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका छन् ।

फागुन ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकमा दुई हजारभन्दा बढी महासमिति सदस्य सहभागी भएका छन् ।

Published : Thursday, 2024 February 22, 7:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया