काठमाडौंको सामूहिक हत्या र आत्महत्या प्रकरणको नजिक पुग्यो प्रहरी

काठमाडौं । श्रीमतीसहित ३ जनाको हत्या गरी फरार व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

नागार्जुन नगरपालिका–६ भैरवटोल डेरा गरी बस्ने सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–१० घर भएका ३७ वर्षीय राजु भन्ने काजी बिश्वकर्मा घिमिरे सल्लाको रुखुमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बिश्वकर्मा नागार्जुन नगरपालिका–५ स्थित ह्वाईट गुम्बा जङ्गलस्थित सल्लाको रुखमा नाईलनको डोरीले पासो लगाइ झुण्डिएको अवस्थामा बुधबार मृत फेला फेला परेका छन् ।

दैनिक ज्यालादारीको काम गर्ने काजीले आफ्नै कोठामा श्रीमती ३८ वर्षीया इश्वरी भन्ने प्रेमकुमारी श्रेष्ठ तथा छोरी ८ वर्षीया अनिसा श्रेष्ठ र नातिनी नाता पर्ने २ वर्षीया सिवाना श्रेष्ठसमेतको कर्तब्य गरी हत्या गरेको प्रहरीले जनाएको छ । शव बुधबार बिहान कोठामा भेटिएको थियो ।

उनीहरूको शरीरमा धारिलो हतियारको चोटहरू थिए । काजी कोठामा थिएनन् । सम्पर्कमा पनि थिएनन् । प्रहरीले उनैले परिवारको हत्या गरेर भागेको शंका गरेर खोजी थालेको थियो ।

हत्या पश्चात फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त स्वयम्भूबाट घटनास्थलतर्फ खटिगएको अनुसन्धान टोलीले खोजतलास गर्ने क्रममा बिश्वकर्माको शव फेला पारेको हो ।

घटना सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको जनाएको छ । हत्यापछि काजी फोन गर्दै बाहिर निस्किए थिए । ससुरालाई फोन गरेर काजीले छोरीलाई हत्या गरेको सूचना दिए । उनले भनेका थिए, ‘हत्या गरेको छु, हेर्न जानु ।’

ईश्वरीकी बहिनीलाई फोन गरेर ‘छोराको भविष्य बनाइदेऊ’ भनेको अडियो रेकर्ड अनुसन्धान अधिकृहरूसम्म पुगेको छ । ७ कक्षामा पढ्ने छोरालाई दुनोट किन्न पठाएर काजीले पत्नी, छोरी र नातिनीको हत्या गरेका हुन् ।

‘दुईवटा बैंकमा पैसा छ, चेकबुक र खाता नम्बर डेरामा छ’ ईश्वरीकी बहिनीलाई फोन गरेर काजीले भनेका छन्, ‘बैंकमा पैसा छ, छोराको भविष्य बनाइदेऊ ।’

आफन्तहरूलाई उनले आफू आत्महत्या गर्न लागेको जानकारी गराउँछन् । प्रहरीका अनुसार अडियोमा आफन्तहरूले त्यस्तो निर्णय नगर्नुस्, फर्किनुस् भन्दा उनी मान्दैनन् ।

हत्यापछि आत्महत्या गर्नुको कारण श्रीमतीको परपुरुषसँगको अबैध सम्बन्ध रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले बताएका छन् ।

स्थानीय सुधा तामाङले करिब सवा ११ बजेतिर मानिस झुन्डिएको देखेपछि प्रहरीको कन्ट्रोल रुममा खबर गरेकी हुन् । काजीका ससुराले सीता पाइलामा नै खाजा घर सञ्चालन गरेका छन् । काजीका १५ वर्षीय छोरा ७ कक्षामा पढ्दै छन् ।

Published : Wednesday, 2024 February 21, 10:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया