गोदावरीमा कांग्रेसको महासमितिमा दिनभरि के के भयो ?

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक दोस्रो दिन ललितपुरको गोदावरीमा जारी रहेको छ ।

सोमबारदेखि सुरु भएको महासमिति बैठकको दोस्रो दिन पाँच वटा प्रतिवेदन पेश गरिएका छन् । बैठकको सुरुमा उपसभापति तथा उपप्रधान तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका छन् ।

महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रतिवेदन, कांग्रेसका प्रवक्ता तथ अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, संभावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन गरेका छन् ।

उपसभापति खड्काले कांग्रेसको आन्तरिक जीवन तथा राष्ट्रिय सन्दर्भमा उठेको प्रश्न र अप्ठ्याराहरूको समाधान खोज्न महासमितिले नीतिगत निर्णय गर्दै अघि बढ्ने बताएका छन् ।

जिम्मेवार नेपाली कांग्रेस : समुुन्नत देश नारा दिएर नेपाली कांग्रेसको राजनीतिक नीतिलाई अघि बढाइएको उपसभापति खड्काले जानकारी दिएका छन् ।

उनले भने, ‘मुलुकका विभिन्न युगान्तकारी परिवर्तनमा कांग्रेसको सन्तुलीत समयन्वयकारी र सर्वस्वीकार्य राजनीतिक नेतृत्व भूमिका बिचार र नीति निर्णायक रहँदै आएको छ ।’

महामन्त्री थापाले सांगठनिक प्रस्ताव पेश गर्दै पार्टीलाई सामाजिक रूपान्तरणको संवाहक बनाउने र सामाजिक आन्दोलनसँग जोड्ने जानकारी दिएका छन् । थापाले भने, ‘पार्टीले आफूले नेतृत्व गरेका सबै तहका सरकार सञ्चालनका लागि सुशासनलाई मन्त्र बनाई जनतालाई निरन्तर तीनका मुद्दासँग जोडिएको अनुभुत गराउनेछौं । अवसर पाएको बेला अव्वल सेवा प्रवाह गर्न भविष्यप्रतिको भरोसा दिलाउनेछौं ।’

महामन्त्री थापाले कांग्रेसलाई लोकतन्त्रमा आस्थावानहरूको एकमात्र विश्वासीलो र आम जनताको भरपर्दो पार्टी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

थापाले एक विशिष्ट परिस्थितिमा संविधान र लोकतान्त्रिक प्रणालीको रक्षार्थ नेपाली कांग्रेसले पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै सरकारको जिम्मेवारी बहन गर्नुपरेको उल्लेख गरेका छन् ।

महामन्त्री थापाले आगामी आवधिक निर्वाचनमा पार्टी एक्लै चुनाव लड्न सक्ने गरी संगठनलाई बलियो बनाउने बताएका छन् ।

महामन्त्री विश्वप्रकाश शर्माले प्रतिवेदन प्रस्तुत गर्ने क्रममा लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएको उल्लेख गरेका छन् । उनले संघर्ष र संविधानसभाको मार्गबाट आएको नेपालको वर्तमान संविधान नै सबै चुनौतीको हल गर्दै मुलुकलाई समुन्नतीको उचाईंमा पुरार्‍याउने भरपर्दो माध्याम रहेको बताएका छन् ।

उनले तथ्यमा नेपाली कांग्रेस स्पष्ट भएको बताएका छन् । महामन्त्री शर्माले अहिलेको गठबन्धन फरक मतको चुनौतीपूर्ण सहयात्रा भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘पटक पटकको संसद् विघटन र संविधानको रक्षका लागि मुख्य दलहरू गत निर्वाचनमा एक भएर मैदानमा होमिएका थिए । त्यो गठबन्धनबाट उपलव्धी हासिल भएको छ तर, पनि असन्तुष्टी र चुनौतीहरू बढ्दै गएको देखिन्छ ।’

प्रतिवेदनमा महामन्त्री शर्माले हालको गठबन्धन आगतको सम्झौता नभई विगतले बोकाएको अभिभारा भएको उल्लेख गरेका छन् ।

एकल बहुमत कसैको नभएको संसद्मा गठबन्धनलाई कायम राखेर नै देश र जनताको हितमा काम गर्नुपर्ने अभिभार कांग्रेसको रहेको बताएका छन् ।

कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले लोकतान्त्रिक समाजवादको आर्दशलाई कांग्रेसले आत्मासाथ गर्ने बताएका छन् । उनले आर्थिक वृद्धि र न्यायोचित वितरण, उपत्पादन वृद्धि र रोजगारी सिर्जना तथा सामाजिक सुरक्षाको प्रत्याभुति गर्नुपर्ने नीतिको पक्षमा कांग्रेस अडिग रहेको जानकारी दिएका छन् ।

२०७७ असार मसान्तमा बैंक तथा वित्तिय प्रणालीमा ३२१० अर्बबाट वृद्धि भई कर्जा प्रवाह ०७९ असार मसान्तसम्म ४६२१ अर्ब पुगेको डा. महतले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

उनले अर्थतन्त्रलाई गतिशिल बनाउन पहल भइरहेको बताए । अर्थतन्त्रमा चुनौती कायमै रहेपनि समिष्टिगत आर्थिक परिसूचकमा क्रमश सुधार हुँदै गएको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

लेखा समिति संयोजक श्याम घिमिरेले कांग्रेसको मुख्य आम्दानी सदस्यता लेभी, नवीकरण, शुल्क रहेको जनाभएका छन् । कांग्रेसले आफ्नो रकम निर्वाचन, अधिवेशन, कार्यालय सञ्चालन, भ्रातृ संगठन, ह्रास तथा अपलेखनमा खर्च हुने गरेको पनि लेखा समिति संयोजक घिमिरेले प्रतिवेदनमार्फत जानकारी गराएका छन् ।

सोमबारदेखि सुरु भएको कांग्रेसको महासमिति बैठकमा मंगलबार पेश गरिएका प्रतिवेदनमा बुधबारदेखि चारवटा हलहरुमा छलफल हुनेछ ।

गोदावरी हलमा कोशी र सुदुरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बीनी प्रदेश, भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरु, फूलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशंखुनारायण हलमा मधेश र कर्णाली प्रदेशको समूहगत छलफल हुनेछ ।

कांग्रेसको महासमिति बैठक फागुन १० गतेसम्म सञ्चालन हुनेछ । बुधबार बिहान ९ बजेबाट समूहगत रुपमा छलफल हुनेछ ।

Published : Tuesday, 2024 February 20, 11:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया