शेखर-गगनको झगडाले कांग्रेस सत्ताभन्दा बाहिर जान सक्ने, विश्व निकै दूरदर्शी देखिए

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मध्यमार्गी प्रस्ताव अगाडि ल्याएपछि महासमितिका सदस्यहरूमा आशा पलाएको छ ।

नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापाबीच देखिएको आन्तरिक द्वन्द्वका कारण कांग्रेस सत्ताभन्दा बाहिर जाने सम्भावना बढेर गएको छ । थापाले सत्ता गठबन्धनको विरोध गरिरहेका छन् । थापाले दिएका अभिव्यक्ति र सांगठनिक प्रतिवेदनमा राखेका कुराले माओवादी केन्द्रलाई झस्काइदिएको छ । कोइरालालाई साइजमा ल्याउन थापाले गठबन्धनको विरोधदेखि विभिन्न फण्डा गरिरहेको आरोप महासमिति सदस्यहरूले लगाएका छन् ।

महामन्त्री थापाको अभिव्यक्ति र प्रतिवेदनलाई एमालेले निकै चासोका साथ अध्ययन गरेको छ । एमालेले थापाको प्रतिवेदनलाई देखाएर माओवादीलाई कांग्रेससँगको गठबन्धन भत्काउन प्रस्ताव पठाएको उच्च स्रोतले जनाएको छ ।

मंगलबार सिंहदरबारमा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग सुटुक्क भेटवार्ता गरेका छन् । सभापति शेरबहादुर देउवा सत्ता गठबन्धनको पक्षमा छन् । देउवाले तत्कालीन परिस्थितिमा गठबन्धनबारे निर्णय गर्नुपर्ने बताउँदै आएका छन् ।

महामन्त्री थापा आफ्नो प्रस्ताव स्थापित गराउन खोजिरहेका छन् । थापाले अर्का महामन्त्री शर्माको समर्थन खोजिरहेका बेला महामन्त्री शर्माले भने अहिले नै निर्वाचनबारे छलफल गर्नै आवश्यक नरहेको बताएका छन् ।

शर्माले निर्वाचन आउनुभन्दा चार वर्षअघि नै गठबन्धनबारे छलफल गर्नु आवश्यक नरहेको बताएका छन् । महामन्त्री शर्माले प्रतिवेदनमार्फत निर्वाचनमा कसरी जाने भन्नेबारे उपयुक्त समयमा निर्णयमा पुग्नुपर्ने उल्लेख गरेका छन् ।

शर्माको प्रतिवेदनमा भनिएको छ, ‘निर्वाचन आउनुभन्दा ४ वर्षअघि नै निर्वाचनबारे छलफल गर्नु आवश्यक विषय होइन । त्यसैले आगामी निर्वाचनमा पनि गठबन्धन गरेर हामी जानेछौँ या तीनवटै तहको सम्पूर्ण स्थानमा कांग्रेस उम्मेदवार खडा गर्नेछौँ ? यो विषयमा हामीभित्र रहेका स्वभाविक दुई थरी मतलाई सुरक्षित राखेर उपयुक्त समयमा हामी उपयुक्त निर्णयमा पुग्नेछौँ नै ।’

महामन्त्री शर्माले गठबन्धन गरेकै कारण कांग्रेस अहिले तीनै तहमा पहिलो दल बन्न सफल भएको उल्लेख गरेका छन् । शर्माको प्रतिवेदनमा भनिएको छ, ‘२०७९ को निर्वाचनमा गरिएको गठबन्धनका क्रममा र परिणामपश्चात् उब्जिएको केही प्रश्नमा दुई सूक्ष्म आत्मचिन्तन भने महासमितिमा हामीले गर्नै पर्ने हुन्छ– पहिलो, कांग्रेसका परम्परागत मतदाताले अन्य चिह्नमा मत दिन पार्टीले गरेको आग्रह रुचाएनन्, तिनको विश्वासलाई पुनर्जागृत गर्ने प्रश्न । दोस्रो, गठबन्धनमार्फत पहिलो दल त बन्यौँ । समानुपातिकतर्फ २०७४ को तुलनामा हामीले करिब ७ प्रतिशत मत गुमाउनुको वास्तविक कारण के हो ? पहिचान र निदानको प्रश्न ।’

महामन्त्री शर्माले कोशी प्रकरणबारे गठबन्धनमा गम्भीर समीक्षा हुनुपर्ने पनि स्पष्ट पारेका छन् । शर्माको प्रतिवेदनमा भनिएको छ, ‘कोशी प्रदेशमा पछिल्लो पटक सरकार बनाउँदा र गत राष्ट्रिय सभा चुनावमा माओवादी उम्मेदवार पराजित हुँदा सहयात्री दलले हामीप्रति असन्तोष प्रकट गरेको स्थिति छ, यो घटनाक्रमलाई गम्भीर समीक्षा गर्न, कमजोरी पहिचान गर्न र सहमतिपूर्वक निदान पहिल्याउन जरुरी छ ।’

Published : Tuesday, 2024 February 20, 11:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया