पाँच दलीय गठबन्धनको महामन्त्री थापाद्वारा बचाउ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई सामाजिक रूपान्तरणको संवाहक बनाउने बताएका छन् ।

मंगलबार ललितपुरको गोदवारीमा बसेको महासमिति बैठकमा सांगठनिक प्रतिवेदन प्रस्ताव पेश गर्दै थापाले कांग्रेसको अभियानलाई सामाजिक आन्दोलनसँग जोड्ने बताए ।

‘पार्टीले आफूले नेतृत्व गरेका सबै तहका सरकार सञ्चालनका लागि सुशासनलाई मन्त्र बनाई जनतालाई निरन्तर तीनका मुद्दासँग जोडिएको अनुभुत गराउनेछौं’, उनले भने ।

थापाले भने, ‘अवसर पाएको बेला अव्वल सेवा प्रवाह गर्न भविष्यप्रतिको भरोसा दिलाउनेछौं ।’

महामन्त्री थापाले कांग्रेसलाई लोकतन्त्रमा आस्थावानहरूको एकमात्र विश्वासीलो र आम जनताको भरपर्दो पार्टी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

थापाले आन्तरिक प्रतिस्पर्धामा गुटगत भिन्नता देखिएपनि सार्वजनिक हितका विषयमा एकजुट भएर लाग्ने सामूहिक भावना कांग्रेसमा रहेको बताएका छन् ।

गठबन्धनबारे बोल्दै महामन्त्री थापाले तत्कालीन सरकारले पटक पटक असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेपछि गठबन्धनको परिस्थिति बनेको बताएका छन् ।

उनले भने, ‘एक विशिष्ट परिस्थितिमा संविधान र लोकतान्त्रिक प्रणालीको रक्षार्थ नेपाली कांग्रेसले पाँच दलीय गठबन्धनको नेतृत्वगर्दै सरकारको जिम्मेवारी बहन गर्नुपरेको थियो ।’

‘त्यसैको निरन्तरता स्वरुप पार्टीले लोकतन्त्र र संविधानको रक्षार्थ र स्थिरताका लागि निर्वाचनमा गठबन्धन गर्ने निर्णय भएको थियो’, उनले भने ।

सरकार र पार्टीको सम्बन्धमा सबै तहमा केही न केही समस्या भएपनि ती समस्या समाधानका लागि छलफलका माध्यमबाट पार्टीअघि बढ्ने महामन्त्री थापाले बताएका छन् ।

Published : Tuesday, 2024 February 20, 5:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया