कांग्रेसद्वारा धेरैलाई महासमिति बैठकमा प्रवेश दियाे, भाेटिङ अधिकार दिएन

काठमाडौं । नेपाली कांग्रेसले महासमिति सदस्य चयन नभएका जिल्लाहरूलाई महासमिति बैठकमा सहभागी हुन दिने निर्णय गरेकाे छ ।

मंगलबार बिहान सभापति शेरबहादुर देउवाकाे निवास बुढानिलकण्ठमा बसेकाे पदाधिकारी बैठकले महाधिवेशा प्रतिनिधिहरूलाई बैठकमा सहभागी हुन दिने निर्णय गरेकाे विज्ञप्तिमा उल्लेख छ । आमन्त्रित रुपमा सहभागी भएका उनीहरूले भाेटिङ अधिकार पाएका छैनन् ।

`१४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएर महासमिति सदस्यको निर्वाचन नभएको वा सर्वसम्मत हुन नसकेको वा कारणवश टुङ्गो लाग्न नसकेको संघीय निर्वाचन क्षेत्रका हकमा फागुन ७–१० का लागि आयोजित महासमिति बैठकमा भाग लिने गरी यो पटकका लागि ती क्षेत्रका महाधिवेशन प्रतिनिधि सबैलाई आमन्त्रित रुपमा बैठकमा सहभागी गराउने निर्णय गरियो । ती स्थानहरूमा निर्वाचन समितिले यथाशीघ्र महासमिति टुङ्ग्याउनेछ´, विज्ञप्तिमा भनिएकाे छ ।

कांग्रेसका अनुसार महासमिति बैठकमा आमन्त्रित गरिने निर्वाचन क्षेत्र र जिल्लाहरूमा बारा क्षेत्र नं ३, पर्सा क्षेत्र नं १, सोलुखुम्बु, खोटाङ्ग, धादिङ्ग क्षेत्र नं १, दोलखा, ओखलढुङ्गा, काठमाण्डौ क्षेत्र नं ५, दाङ्ग क्षेत्र नं ३, कञ्चनपुर क्षेत्र नं १, बाग्लुङ्ग क्षेत्र नं २ र सिन्धुली क्षेत्र नं २ लाई आमन्त्रितका रुपमा सहभागी हुन दिइएकाे छ ।

`नेपाली कांग्रेसको १४ औ महाधिवेशन पश्चात केन्द्रीय महाधिवेशन सम्पन्न गरेका वा नेतृत्व परिवर्तन भएका तपशील बमोजिमका भ्रातृ संघ एवं शुभेच्छुक संस्थाहरुका हकमा अध्यक्ष सहित तीन जना महासमिति सदस्यको रुपमा सहभागी गराउने निर्णय गरियो´, विज्ञप्तिमा कांग्रेसले भनेकाे छ ।

कांग्रेसले भ्रातृ संस्थाहरू १. नेपाल विद्यार्थी संघ, २. नेपाल महिला संघ, ३. नेपाल तरुण दल, ४. नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, ५. नेपाल लोकतान्त्रिक खेलकूल संघ, ६. नेपाल किसान महासंघ, ७. नेपाल थारु संघ, ८. राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, ९. नेपाल प्रजातन्त्र सेनानी संघ, १०. नेपाल दलित संघ, ११. नेपाल भूतपूर्व सैनिक संघ र १२. नेपाल मुस्लिम संघलाई पनि सहभागी गराएकाे छ ।

शुभेच्छुक संस्थाहरू १. नेपाल ट्रेड यूनियन कांग्रेस, २. नेपाल शिक्षक संघ, ३. नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन, ४. सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर्स नेपाल, ५. प्रजातन्त्रबादी चिकित्सक संघ ६. नेपाल प्रेस यूनियन पनि बैठकमा सहभागी हुन कांग्रेसले दिएकाे छ ।

`नेपाली कांग्रेसको १४ औ महाधिवेशन पश्चात अधिवेशन सम्पन्न गरेका विदेशस्थित नेपाली जनसम्पर्क समितिको हकमा विधान बमोजिम महासमिति सदस्यको रूपमा सहभागी गराउने निर्णय गर्दछ´, कांग्रेसले भनेकाे छ ।

Published : Tuesday, 2024 February 20, 12:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया