राजनैतिक परिवर्तन मात्र होइन हरेक क्षेत्रमा अग्रगामी परिवर्तनको मार्ग प्रसस्त गरेको छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिएका छन् ।

सोमबार बिहान शुभकामना सन्देश जारी गरेर देउवाले फागुन ७ गतेको स्मरण गरेका छन् ।

उनले भने, ‘फागुन ७ गते नेपाली कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा म समस्त नेपाली दिदिबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

‘२००७ को कात्र्तिक २६ देखि प्रारम्भ ऐतिहासिक जन–क्रान्तिले यसै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको थियो’, उनले भने ।

‘राजनैतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्ग प्रसस्त गरेको थियो’, सभापति देउवाले भने ।

‘मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश गर्‍यो र प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि सो दिनले निर्माण गर्‍यो’, उनले भने ।

सभापति देउवाले भने, ‘समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातंन्त्रको अन्योन्याश्रीत सम्बन्ध हुँदै ०४६ को परिवर्तन र ०६२/६३ को आन्दोलन मार्फत संघीयता र गणतन्त्रसम्मको यात्राको जननी त्यही फागुन ७ को क्रान्तिनै हो ।’

‘नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समुन्नतिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न प्रजातन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु’, देउवाले भने ।

उनले भने, ‘देशमा लोकतन्त्र स्थापना र पुनर्स्थापनाको लामो संघर्षमा हाम्रा अनेकौं सपुतहरुले आफूलाई उत्सर्ग गरेका छन् । यो ऐतिहासिक दिनमा म ती सम्पूर्ण शहीदहरूको त्याग र वलिदानको स्मरण गर्दछु र उहाँहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दछु ।’

Published : Monday, 2024 February 19, 7:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया