कांग्रेसको महासमिति बैठकमा के के हुनेछ ?

काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठकका लागि ‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता ! स्वतन्त्रता, न्याय र समानता ! नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता !’ भन्ने मूल नारासहित भव्य उद्घाटन गर्न लागेको जनाएको छ ।

आइतबार कांग्रेसले विज्ञप्ति जारी गरेर महासमितिको बैठकलाई सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो १ बजे उद्घाटन गर्ने जनाएको छ । फागुन ७ देखि १० गतेसम्म चल्ने महासमितिको बैठकमा फागुन ४ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट पारित भएका प्रतिवेदनहरू पेश भई छलफल हुनेछ ।

बैठकमा नीति प्रस्ताव तयारी समितिका संयोजक एवम् उपसभापति पूर्णबहादुर खड्काद्वारा नेपाली कांग्रेसको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा सांगठनिक प्रस्ताव, प्रवक्ता डा.प्रकाशशरण महतद्वारा नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेद्वारा लेखा परीक्षण प्रतिवेदन पेश हुनेछन् । ती प्रतिवेदनहरूमा समूहगत रुपमा छलफल हुनेछ ।

तराई, मधेश, हिमाल पहाड सबै क्षेत्रबाट प्रतिनिधित्व रहने गरी समूह विभाजन गरिनेछ । चार वटा हलमा छुटा छुट्टै रुपमा प्रतिवेदनहरूमाथि छलफल हुनेछ ।

नीति अधिवेशनको रुपमा हुने महासमितिको बैठकमा प्रस्तुत हुने यी प्रतिवेदनले वर्तमान राजनीतिक परिवेशलाई उचित सम्बोधन गर्दै व्यवस्था परिवर्तनका हरेक आन्दोलनमा सहभागी जनताहरूमाझ नेपाली कांग्रेसले नै जनताको अवस्था परिवर्तनका लागि विश्वाशिलो र भरपर्दो गरी काम गर्ने विज्ञप्तिमार्फत जनाइएको छ ।

महासमितिको बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू १ सय ६५, प्रतिनिधिसभाको निर्वाचन क्षेत्रहरूबाट प्रतिनिधित्व हुने महासमिति सदस्यहरू १ हजार ७ सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूबाट ६९ र महासमितिका सदस्यहरू नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराइएको कांग्रेसले जनाएको छ ।

‘स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले मात्रै होइन हाम्रा मित्र राष्ट्रहरूले समेत चासोका साथ हेर्ने कांग्रेसको महासमितिको बैठक भव्य, सभ्य, व्यवस्थित र परिणाममुखी बनाउन तयारीमा जुट्नुहुने पार्टीका सबै तहलाई धन्यावाद व्यक्ति गर्दछौँ’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Published : Sunday, 2024 February 18, 11:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया