शेखरसँग गगनले २४ घण्टाभित्रै बदला लिए, बत्तीसपुतली भेला बहिस्कार, गुटभित्रै मारामार

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापाबीच ठूलो टकराव देखिएको छ ।

महासमितिका बैठक उद्घाटन हुनुभन्दा केही घण्टा अगाडिसम्म नेता कोइराला र महामन्त्री थापाबीच विवाद देखिएको हो ।

महामन्त्री थापाले शनिबार काठमाडौंको नयाँबानेश्वरस्थित ईन्द्रेणी फुडल्याण्डमा नेपाल तरुण दलका पूर्व नेताहरूलाई परिचालन गरेर गुटको बैठक राखेका थिए । थापाले संस्थापन समूहका केही नेताहरूलाई झुक्काएर गुटको आफ्नो बैठकमा सहभागी गराएका छन् । थापाको हर्कतबाट संस्थापन समूहका नेताहरू तर्सिएका छन् ।

महामन्त्री थापाको गुटको बैठकलाई नेता कोइरालाले बहिस्कार गरिदिएका थिए । केही कार्यक्रमहरूमा कोइराला र थापा एकसाथ देखिए पनि उनीहरूभित्र निकै ठूलो विवाद छ । महामन्त्री थापाले कोइरालालाई नेता मान्न चाहेका छैनन् । थापाले आफै गुट चलाउन खोजेका छन् । थापाको गतिविधिलाई कोइरालाले मन पराएका छैनन् ।

आइतबार नेता कोइरालाले वीपी अध्ययन प्रतिष्ठानको नाममा महासमिति सदस्यहरूकालागि भन्दै काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुण्ड ल्याण्डमा चियापानको कार्यक्रम अर्थात् गुटको भेला राखेका छन् । कोइरालाको गुटको भेलामा थापा सहभागी भएनन् ।

भेलामा सम्बोधन गर्ने क्रममा नेता कोइरालाले महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनहरूको खुलेरै आलोचना गरेका थिए । महामन्त्री थापाले नेता कोइरालाको गुटको भेलालाई बहिस्कार गरेर बदला लिएका छन् ।

नेता कोइरालाको गुटको भेलामा सह–महामन्त्री भीष्म आङ्दम्बे, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, मीनेन्द्र रिजाल, दीपक गिरी, सरिता प्रसाईं, चन्द्र भण्डारी, मञ्जुु खाण, रुपा बिक, मधु आचार्य, रुक्मणी कोइराला, दिनेश कोइराला, गणेश लामा, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कांग्रेस नेताहरू गुरु घिमिरे, रञ्जित कर्ण, देवराज चालिसे, मेदनी सिटौला, प्रतिष्ठानका अध्यक्ष धर्मेन्द्रबिक्रम नेम्वाङ लगायतको उपस्थिति रहेको थियो ।

महामन्त्री थापा र नेता कोइरालाको गुटको भेला तथा बैठकहरूमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलले बहिस्कार गरिदिएका छन् । शर्मा र पौडेलले थापा र कोइरालाको गुटको भेला तथा बैठक किन बहिस्कार गरेका हुन् केही भनेका छैनन् ।

Published : Sunday, 2024 February 18, 11:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया