देशलाई अफ्ठ्यारो परेका बेला तामाङहरूले योगदान गरेका छन् : सभापति खतिवडा

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम् नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले नेपालको प्रजातान्त्रिक इतिहाँसमा भीमबहादुर तामाङले गरेको योगदानको स्मरण गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा ‘ओखलढुङ्गा ह्याङ्ला तामाङ समाज’ले आयोजना गरेको सोनाम ल्होसार साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले स्व.भीमबहादुर तामाङले गरेको योगदानको सबैले स्मरण गर्नुपर्ने बताए ।

खतिवडाले भने, ‘नेपालको प्रजातान्त्रिक इतिहाँसमा भीमबहादुर तामाङले गरेको योगदानको नेपालको प्रजातान्त्रिक इतिहाँसमा नेपाली कांग्रेसले मात्रै होइन, सम्पूर्ण देशबासीले बिर्सन लायक छैन ।’

‘हिजोको प्रजातान्त्रिक पद्धतिमा मात्रै होइन । नेपालको इतिहाँसमा हाम्रो ओलखढुङ्गा नजिकको रामेछापबाट कान्छाराम तामाङले प्रतिनिधिसभाको निर्वाचनमा विजयी हासिल गर्नुभएको छ’, उनले भने, ‘यही बागमती प्रदेशमा बहादुरसिंह लामा तामाङ अर्थमन्त्री, तीर्थ लामा तामाङ खानेपानी मन्त्रीको रुपमा हुनुहुन्छ ।’

उनले भने, ‘हामीले बनाएको संविधान सबै जातको संविधानको रुपमा निर्माण गरेका छौँ । हामीले कुनै जात, वर्गलाई, कुनै धर्मलाई राज्यको धर्म, राज्यको जात र राज्यको वर्ग भनेर वर्गीकरण गरेका छैनौँ ।’

‘जसरी तपाईहरू सप्तरङ्गी रुपमा जम्मा हुनुभएको छ, हामीले नेपाललाई सबै जात, वर्ग र सबै धर्मको मुलुक बनाएर लिएर जान्छौँ’, सभापति खतिवडाले बताएका छन् ।

तामाङ समुदायले एकताको सन्देश दिएको भन्दै समितिका सभापति खतिवडाले सोनाम ल्होसार पर्वको अवसरमा शुभकामना दिएका छन् ।

सभापति खतिवडाले भने, ‘देशलाई अफ्ठ्यारो परेका बेला प्रजातन्त्रको पक्षमा, लोकतन्त्रको पक्षमा, विधिको शासनको पक्षमा, कानूनी राज्यको पक्षमा, मानव स्वतन्त्रताको पक्षमा, मानवअधिकारको रक्षाको पक्षमा, प्रजातन्त्र प्राप्तिको पक्षमा नेपालका तामाङहरूले गरेको योगदान कसैले बिर्सना सक्दैन ।’

सभापति खतिवडाले चुनावमा कुनै जात वा धर्मको मानिस नभनेर आफूलाई जिताएर पठाएको भन्दै धन्यावाद दिएका छन् ।

‘चुनावमा जाँदा यो जात, वर्गको नभनेर तपाईहरूले जसरी सहयोग गर्नुभयो त्यसलाई म स्मरण गर्न चाहन्छु’, उनले भने ।

सभापति खतिवडाले भने, ‘चुनावका बेला गरेको प्रतिवद्धता म पूरा गर्न तयार छु । जुन जात वा जुन वर्गबाट जन्मिए पनि तपाईहरूको काम गर्न सधैँ तयार छु ।’

Published : Saturday, 2024 February 17, 9:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया