सरस्वतीको मूर्ति बिसर्जन गर्दा रौतहटमा दुई समूहबीच झडप, सीडीओद्वारा कर्फ्यु आदेश

काठमाडौं । रौतहट जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले ईशनाथ नगरपालिकामा कर्फ्यु आदेश जारी गरेका छन् ।

सरस्वतीको मूर्ति बिसर्जनको क्रममा मोतीपुरमा दुई पक्षबीच बिबाद भइ झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीद्वारा जारी सूचनाअनुसार ईशनाथ नगरपालिकाको पूर्वमा जोकहा गाउँ, पश्चिममा सानो जोकहा गाउँ, उत्तरमा रामपुरखाप (एपीएफ बीओपी) र दक्षिणमा जयनगर प्रहरी चौकी चार किल्लाभित्र कर्फ्यु आदेश जारी भएको छ ।

फागुनको ३ गते बिहीबार ईशनाथ नगरपालिकाको वडा नं. ६ र ७ मा सरस्वती मूर्ति बिसर्जनको क्रममा मोतीपुरमा दुई समूहबीच विवाद र झडप भएको थियो ।

शनिबारका दिन घिउरामा पुन: विवाद र झगडाको स्थिति उत्पन्न भएकोले सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भङ्ग हुन जाने स्थिति देखिएकोले शनिबार बेलुका ५ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु आदेश जारी भएको छ ।

कर्फ्यु आदेश जारी भएको स्थानमा आवत जावत, भेला हुन, बाहिर हिँडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ, र्‍याली गर्न एवम् अन्य कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरि कर्फ्यु आदेश जारी भएको छ ।

Published : Saturday, 2024 February 17, 9:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया