जीबी राई र रवि लामिछाने पनि जोडिएका दुई ठूला मानिसहरू पक्राउ

काठमाडौं । सुप्रिम बचत तथा ऋण सहकारी संस्था, बुटवलका अध्यक्ष ओमप्रकाश गुरूङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाईं पाण्डेयलाई प्रहरीले पक्राउ गरेको छ ।

बचतकर्ताहरूको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश र भैरहवा शाखाका व्यवस्थापक दुर्गालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

लुम्बिनी प्रदेशको सहकारी रजिस्ट्रार कार्यालयको प्रतिवेदन र बचतकर्ताको उजुरीपछि अध्यक्ष ओमप्रकाश र दुर्गालाई पक्राउ गरिएको छ ।

अध्यक्ष गुरूङलाई बिहीबार र पाण्डेयलाई शुक्रबार पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

रूपन्देही लगायत आसपासका जिल्लाका दस हजार ३९१ जना बचतकर्ताको एक अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रूपियाँ हिनामिना गरी विगत एक वर्षदेखि संस्थाका संस्थापक अध्यक्ष एवं संरक्षक गितेन्द्रबहादुर (जीबी) राई सम्पर्कबिहीन छन् ।

राईले आफूआबद्ध रहेको गोरखा मिडिया नेटवर्क प्रालिमा विभिन्न पाँचवटा मितिमा १२ करोड १४ लाख ८४ हजार ८६० रूपियाँ घाटाला गरेको आरोप छ ।

यो गोरखा मिडिया नेटवर्क प्रालिमा रवि लामिछाने पनि जोडिएका छन् । सहकारीको रकम खाएको अभियोगमा रास्वपाका सभापति लामिछाने विवादमा परेका छन् ।

Published : Friday, 2024 February 16, 10:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया