गगन–विश्व धेरै जान्ने हुन खोज्दा विधानले नचिनेको कुरा ल्याए, जीतजङ्ग बस्नेतद्वारा विरोध

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजङ्ग बस्नेतले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनहरूको आलोचना गरेका छन् ।

शुक्रबार वीपीनगर, ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै बस्नेतले कांग्रेसले नचिन्ने संगठनहरू ल्याएको भन्दै थापा र शर्माको आलोचना गरेका छन् । उनले युथ कांग्रेस र उद्यमशील कांग्रेसलाई कांग्रेसको विधानले नचिन्ने बताए ।

विधानले नचिनेको कुराहरू महामन्त्रीद्वय थापा र शर्माले राजनीतिक प्रतिवेदनमा राखेको भन्दै नेता बस्नेतले कडा प्रतिवाद गरेका छन् ।

‘पार्टीको महासमिति बैठकको पूर्वसन्ध्यामा भइरहेको यस केन्द्रीय समितिको बैठकको पहिलो दिन महामन्त्री गगन थापाज्यूले सांगठनिक प्रतिवेदन पेश गर्नुभएको छ’, उनले भने, ‘प्रतिवेदन हेर्दा कांग्रेसलाई अर्को कुनै पार्टीमा रुपान्तरण गर्न लागेको हो कि भन्ने भान मजस्तै अन्य केन्द्रीय सदस्य साथीहरूलाई लागेको होला भन्ने मेरो विश्वास छ ।’

उनले भने, ‘प्रतिवेदनको पेज नम्बर ३२ को बुँदा नम्बर १८ मा ‘युवासँग कांग्रेस’मा युथ कांग्रेस, उद्यमशील कांग्रेस उल्लेख छ ।’
नेता बस्नेतले भने, ‘पार्टीको विधानले युथ कांग्रेस चिन्दैन । युथ कांग्रेस भनेको के हो ? कतै २०१० सालमा महामानव वीपी कोइरालाले कलिलो प्रजातन्त्रको रक्षाका लागि गठन गरिएको नेपाल तरुण दललाई घाँटी निचोर्ने काम त भएको होइन ? तरुण दलको तदर्थमै चलाउनुको भित्रि रहस्य कहीँ यही युथ कंग्रेस त होइन ?’

बस्नेतले भने, ‘प्रतिवेदनको पेज नम्बर ३६ मा बहसका लागि प्रस्तावित विषयहरूको बुँदा नम्बर १ मा सदस्यतामा स्वत: प्रतिनिधि हुने व्यवस्था अन्त्य गर्ने, केन्द्रीय सदस्य, सांसदलगायत विभिन्न जिम्मेवारीमा रहेका सबै अनिवार्य रुपमा तल्लो तहबाट अधिवेशन प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने उल्लेख छ ।’

‘यो कुरा पदाधिकारीहरूमा लागू हुने कि नहुने ? हुने भए यसमा पदाधिकारीहरू भनेर किन लेखिएन ? कि लेख्न छुटेको हो ?’, नेता बस्नेतले प्रश्न गरेका छन् ।

‘महामन्त्रीज्यूले पेश गर्नुभएको प्रतिवेदनको पाना नम्बर ३५ मा वडादेखि जिल्ला तहसम्म जुन तहका लागि नेतृत्व छनौट गर्ने हो, मताधिकारका लागि योग्यता पुगेका पार्टी सदस्यको प्रत्यक्ष निर्वाचनबाट सो तहको सभापति र अन्य केही पद मात्र निर्वाचित गर्ने, बाँकी पद पार्टी सदस्यहरूबाट मनोनयन गर्ने भनिएको छ’, उनले भने ।

‘यसमा कस्तोलाई योग्यता पुगेको मान्ने ? पार्टी सदस्यता योग्यता पुगेको भनेको के हो ? सबै क्रियाशील सदस्यहरूबाट चुनिएका साथीहरू के अयोग्य नै भन्न खोज्नुभएको हो महामन्त्रीज्यू ? अब पार्टीले नेपाली कांग्रेसको क्रियाशील सदस्यताको व्यवस्था खारेज नै गर्न खोजेको हो ?’, उनले भने ।

‘यस्तै त्यो प्रतिवेदनको पाना नम्बर ३७ मा प्राइमरी इलेक्सन को प्रस्ताव गर्नुभएको छ’, उनले भने, ‘प्राइमरी इलेक्सनको नेपालीकरण के हो ? नेपालको लोकतन्त्रको आफ्नै मौलिकता छ । हामीले अमेरिकी व्यवस्थालाई साभार गर्न लागेका हौं र ?’
बस्नेतले भने, ‘महामन्त्रीज्यूबाट निकै फूलबुट्टा पार्न खोजिएको यो प्रतिवेदनमा १५औं महाधिवेशनको कार्यतालिकामा विधान महाधिवेशन २०८१ असोजमा गर्ने भन्नुभएको छ । परिकल्पना नै नगरेको विधान अधिवेशन भनेको के हो ? केही समय पछाडि हाम्रो महासमिति बैठक जहाँ हुँदैछ, त्यहाँ नै एमाले जे गर्‍यो, त्यही कांग्रेसले अपनाउन जरुरी छ र ? के कांग्रेसको विधान पूर्ण असफल भए कै हो र ?’

‘महामन्त्रीको प्रतिवेदनले सम्पूर्ण केन्द्रीय सदस्य र ती तमाम महाधिवेशन प्रतिनिधिहरूले दिएको म्यान्डेटलाई के लात हानेको हो ?’, उनले प्रश्न गर्दै भने ।

‘महासमिति बैठकमा महामन्त्रीद्वारा प्रस्तुत हुने सांगठनिक प्रस्ताव छ्याप्छ्याप्ती मिडियामा छताछुल्ल कसरी हुन्छ ? हामी केन्द्रीय सदस्यलाई गोप्य भनेर बाँड्ने अनि बैठक हुनुअघि नै मिडियामा पठाउने काम कसले गर्छ ? पार्टीको बैठक प्रत्यक्ष प्रसारण गरौं भन्दा गोप्यता भएन भनेर स्यालहुँइ्या गर्ने अनि गोप्य गरौं न त भन्दा आफू अनुकूल समाचार लेखाउन मिडियामा पठाउने ? यो कस्तो खाले प्रवृति हो ? यसमा सांगठनिक प्रतिवेदनले के भन्छ ? के यसले हाम्रो भावी रणनीति र गोपनीयता कायम हुन्छ’, नेता बस्नेतले भने ।

Published : Friday, 2024 February 16, 9:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया