अहिलेको गठबन्धन ०८४ सम्म जान्छ, सभापतिलाई कमजोर बनाएर कोही ठूलो हुँदैन : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा धेरै नबहकिन आग्रह गरेका छन् ।

शुक्रबार वीपीनगर, ललितपुरस्थित कांग्रेसको मुख्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै खतिवडाले महामन्त्रीहरूको प्रस्ताव बाहिर फैलिएकोमा चिन्ता जनाए । उनले भने, ‘महामन्त्रीहरूको प्रस्तावमा पब्लिकामा बाहिर जे हल्ला छ त्यसमा मात्रै बहकिनु भएन । हामी विश्वासिलो पार्टी हौँ ।’

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका नेता खतिवडाले सभापति शेरबहादुर देउवालाई पनि साथमा लिएर हिँड्नुपर्ने बताएका छन् ।

उनले भने, ‘अहिले पार्टी सभापतिलाई कमजोर बनाएर कोही पनि बाहिर ठूलो बन्छु भनेर प्रयत्न नगरौँ । पार्टी सभापतिलाई साथमा लिए हिँड्ने प्रयत्न गरौँ । उहाँको अर्को चोटी उठ्ने इच्छा छैन ।’

खतिवडाले अहिलेको सत्ता गठबन्धन ०८४ सम्म यथावत रहने बताएका छन् । उनले भने, ‘पार्टी सभापतिको लाइनलाई लिएर गठबन्धनलाई अहिले ०८४ सम्म हाम्रो केही हुँदैन । कांग्रेसलाई पहिलो पार्टी बनाउन संगठनमा क्रियाशील हौँ ।’

उनले राष्ट्रियसभालाई समानुपातिक बनाउनुपर्ने बताए । ‘समानुपतिक पद्धतिले स्थायी सरकार नबन्ने भयो’, खतिवडाले भने, ‘राष्ट्रियसभालाई समानुपातिक बनाऔँ । प्रतिनिधिसभालाई प्रत्यक्ष निर्वाचित गरौँ ।’

उनले भने, ‘गठबन्धनको बारेमा हामी धेरै प्रवेश गर्न चाहँदैनौँ । गठबन्धन पाँच वर्षको लागि छ । ०८४ सम्म यहि गठबन्धन कायम रहन्छ ।’

नेता खतिवडाले भने, ‘२९ वटा जिल्लाको महासमितिको कुरालाई एउटा निर्णयमा पुगौँ । उपयुक्त निर्णय गरौँ । को रहने ? को नरहने ? निर्णय गरौँ । यो विषयमा हामीले एउटा निर्णय गर्न सकेका छैनौँ ।’

सभापति खतिवडाले मुलुकको अर्थतन्त्र सुधार हुन नसकेको भन्दै चिन्ता जनाएका छन् । ‘अर्थतन्त्रको बारेमा जति नै गफ गरे पनि धेरै सुधार भएको छैन’, उनले भने, ‘कन्तुरमा पैसा राखेर बाहिर आएर मान्छे मर्न पाइँदैन ।’

Published : Friday, 2024 February 16, 9:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया