घोराहीमा सहायक हवल्दारले डिउटीमा रहेकी आफ्नै पत्नी महिला प्रहरीलाई गोली हाने

घोराही । दाङमा प्रहरी सहायक हवल्दार यमबहादुर झाक्रीले आफ्नै पत्नी महिला प्रहरी धनमाया थापालाई गोली हानेर हत्या गरेका छन् ।

बिहीबार राति घोराही उप–महानगरपालिकाको दामोदर चोकमा यमबहादुरले प्रहरी समेत रहेकी पत्नी धनमायालाई गोली हानेर हत्या गरेको नेपाल प्रहरीका लुम्बिनी प्रदेशका प्रहरी प्रमुख (डीआईजी) कुवेर कडायतले बताए । उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा  चिकित्सकले मृत घोषणा गरेका थिए ।


घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनका पतिले गोली हानी हत्या गरेका दाङका प्रमुख जिल्ला अधिकारी दीनबन्धु सुवेदीले बताए । धनमायाको तीन राउन्ड गोली प्रहारबाट मृत्यु भएको हो ।

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमायालाई बाँकेको नेपालगञ्जमा कार्यरत उनका श्रीमान यमबहादुर झाक्रीले साढे ८ बजेतिर गोली हानेर हत्या गरेको डीआईजी कडायतले बताएका छन् ।

गोली प्रहार गरेर पत्नीको हत्या गर्ने यमबहादुर झाक्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोली प्रहार गरेर पत्नीको हत्या गरेको विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको छ । तालिम केन्द्र नेपालगञ्जमा कार्यरत यमबहादुर विहीबार घोराही आएका थिए । उनले धनमायामाथि तीन राउण्ड गोली प्रहार गरेको बताइएको छ ।

Published : Thursday, 2024 February 15, 9:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया