पत्नीलाई सम्बन्ध विच्छेद गराइदिएर अर्कैतिर विवाह गरिदिएपछि खुकुरी प्रहार

विराटनगर । मोरङ जिल्लामा माइजू र बहिनीमाथि खुकुरी प्रहार गरी घाइते बनाएका ५२ वर्षीय निरकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार बिहान साढे ९ बजेतिर मोरङको केराबारी–९ भलुवाइ घर भएकी ५० वर्षीया जमुनादेवी राई र उनीकी छोरी २५ वर्षीया रेणुका राईमाथि खुकुरी प्रहार गरी बनाएको आरोपमा लेटाङ नगरपालिका–१ का निरकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते आमाछोरी निरकुमारको माइजू र बहिनी नाता पर्छन् । पेस्तोल र खुकुरी बोकेर गएका निरकुमार राईले आमाछोरीलाई खुकुरी प्रहार गरेको खुलेको छ ।

निरकुमार राईको साथबाट प्रहरीले अटोमेटिक पेस्तोल र म्याग्जिनसहित ४ राउण्ड गोली बरामद गरेको छ ।

पक्राउ परेका निरकुमारको साथबाट मेड इन चाइना लेखेको सक्कली र नक्कली पेस्तोलका साथै घटनामा प्रयोग गरिएको खुकुरी बरामद भएको छ ।

पक्राउ परेका निरकुमार र उनी श्रीमतीबीच केही समयअघि सम्बन्ध विच्छेद भएको थियो । सम्बन्ध विच्छेद लगत्तै श्रीमतीले दोस्रो विवाह गरेकी थिइन् ।

आफूसँग सम्बन्ध विच्छेद गराएर दोस्रो विवाह गराइदिएको आरोप लगाएर माइजू र भान्जा (निरकुमार) बीच विवाद हुँदै आएको थियो ।

श्रीमतीको दोस्रो विवाहमा सहयोग गरेको रिसिइबी राखेका निरकुमारले जमुनादेवी (माइजू)लाई आक्रमणको योजनासहित पेस्तोल र खुकुरी बोकेर घरमा पुगेको प्रहरीले जनाएको छ ।

Published : Thursday, 2024 February 15, 7:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया