कुवेतलाई हराउँदै नेपाली महिला क्रिकेट टिमले मलेसियाबाट नाम चम्कायो

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिम एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार मलेसियामा भएको क्वार्टरफाइनलमा कुवेतविरुद्व नेपाली टिमले डकवर्थ लेविस पद्धति (डीएलएस) अनुसार जित निकालेको हो ।

कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७३ रन बनायो । ७४ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको नेपालले ब्याटिङ गरिरहँदा पानी परेको थियो ।
डीएलएस पद्दतिअनुसार १२ ओभरमा ५० रनको लक्ष्य नेपालले ६.५ ओभरमा दुई विकेट गुमाएर भेट्टायो ।
नेपालको जितमा कप्तान ईन्दु वर्मा २२ रनमा अविजित रहिन् । ईन्दुले २१ बलमा एक चौका प्रहार गरिन् ।

सीता रानामगरले १७ रन थप्दा कविता जोशी चार रनमा अविजित रहिन् । कुवेतका मर्यम ओमारले एक विकेट लिइन् ।

त्यसअघि कुवेतका लागि प्रियादा मुरालीले २९ रन बनाइन् । बालासुब्रमनी सान्ती र खाजिदा खालिलले समान १३ रन थपे । अन्यले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालकी सीता रानामगरले तीन विकेट लिइन् । चार ओभर बलिङ गरेकी सीताले ११ रनमात्र खर्चिइन् । रुविना क्षेत्री र कविता कुँवरले समान दुई विकेट लिए ।

अब नेपालले फाइनल प्रवेशका लागि घरेलु टिम मलेसियासँग खेल्नेछ । यी दुई टिमबीचको खेल शुक्रबार हुनेछ ।

Published : Thursday, 2024 February 15, 8:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया