दश जनाको मृत्यु हुनेगरी लुम्बिनी प्रदेशमा अर्को ठूलो दुर्घटना, काठमाडौं हिँडेको बस दोबाटोबाट खोलामा बस्यो

चन्द्रौटा । पूर्वपश्चिम महेन्द्र राजमार्गको कपिलवस्तुअन्तर्गत दोबाटो स्थित सुरही खाेलामा बस दुर्घटना हुँदा दश जनाको मृत्यु भएको छ ।

शिवराज नगरपालिका–१ दोबाटाको घुम्तीबाट बिहीबार बिहान दुई बजे यात्रुवाहक बस खोलामा खस्दा १० जना यात्रुको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरीका प्रमुख (डीआईजी) कुबेर कडायतले बताएका छन् । मृत्यु हुनेमा ३ महिला र ७ पुरुष रहेको कडायतले बताएका छन् छन् । २५ भन्दा धेरै यात्रु घाइते भएका छन् । केही घाइतेलाई भालुबाङतर्फ उपचारका लागि पठाइएको छ ।

सुदूरपश्चिमको सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सुप प्र–०२–००१ ख ००९८ नम्बरको करीव दुई सय मिटर तल खोलामा खसेको छ । दाङ र कपिलवस्तु जिल्लाको सीमाना नजिकै पर्ने दोबाटो निकै जोखिमयुक्त स्थानमा पर्छ । दोबाटो नजिकैको सडक भत्किएर बिग्रिएको पनि छ ।

मृत्यु भएका मध्ये रौतहटका नारायणबहादुर भण्डारीको मात्रै सनाखत भएको छ । बाँकीको सनाखत भएको छैन । महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रु बस करिब दुईसय मिटर तल खोलामा खस्दा दुर्घटना भएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायतले घाइतेको उद्धार गरेका छन् ।

प्रहरीले ३३ जनालाई स्टेचरमा राखेर खोलाबाट रोप रेस्क्यु गरेर उद्धार गरेको छ । बसमा ३७ जना यात्रु र ३ जना बस कर्मचारी रहेका थिए । तीब्र गतिमा रहेको बस घुम्तीमा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ ।

घाइतेहरूको चन्द्रौटास्थित सञ्जीवनी र आधारभूत स्वास्थ्य केन्द्र अस्पताल र बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ । ६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

दुई दिन अगाडि पाल्पा जिल्लामा मुस्ताङ जीप दुर्घटना हुँदा दश यात्रुको मृत्यु भएको थियो । केही दिन अगाडि दाङको भालुबाङमा बस दुर्घटना हुँदा १२ जना यात्रुको मृत्यु भएको थियो ।

पछिल्लो दुई महिनाभित्र लुम्बिनी प्रदेशभित्र ठूला सवारी दुर्घटनाहरू भएका छन् । ती दुर्घटनामा थुप्रै यात्रुको मृत्यु भएको छ ।

Published : Thursday, 2024 February 15, 8:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया