लामो समय कमजोर बनेको अर्थतन्त्र लयमा फर्कियो : अर्थमन्त्री डा.महत

ककनी । नेपाली कांग्रेसका नेता समेत रहेका अर्थमन्त्री डा. प्रकाशशरण महतले गाउँको उत्पादनलाई शहरमा पुर्‍याउनुपर्ने बताएका छन् ।

गृहजिल्ला नुवाकोटको ककनी गाउँपालिका–७ स्थित महेन्द्र माध्यमिक विद्यालयको कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले पूर्वाधारको विकास, प्राविधिक र आधुनिक शिक्षामार्फत गाउँको विकासमा केन्द्रित भएको बताए ।

अर्थमन्त्री डा.महतले भने, ‘विगत वर्षमा देशको राजनीतिक अन्योलता, भूकम्प, कोरोना महामारीको जोखिमलगायतका कारण विकासको गति अघि बढाउन सकिएन ।’

‘अहिले विकासको रफ्तार सुरु भएकाले गाउँ गाउँमा सडकसहितको पूर्वाधारको विकास र कृषिमा आधुनिकीकरण गरी उब्जनी बढाएर त्यसलाई सहरमा पुर्‍याउनुपर्छ’, उनले भने ।

डा.महतले लामो समयसम्म कमजोर बनेको देशको अर्थतन्त्र हाल सुधारको लयमा फर्किएको बताएका छन् । उनले रोजगार र उद्यमशीलता बढ्ने क्रममा रहेको बताएका छन् ।

उनले रोजगारी सिर्जना, व्यावसायिक कृषि उब्जनी र समाज परिवर्तनका लागि शिक्षित जनशक्तिको उत्पादन आवश्यक पर्ने बताएका छन् ।

Published : Wednesday, 2024 February 14, 11:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया