गौरिका र नासिरद्वारा पौडीमा कीर्तिमान भङ्ग

काठमाडौं । नासिर याहा हुसेन र गौरिका सिंहले कतारको दोहामा जारी विश्व एक्वाटिक्स च्याम्पियनसिपमा पुरानो कीर्तिमान भंग गरेका छन् ।

नासिरले २०० मिटर फ्रिस्टायलमा अर्को कीर्तिमान बनाएका हुन् । नासिरले जापानको फुकुवाका सहरमा आयोजना भएको विश्व एक्वाटिक्स च्याम्पियनसिप २०२३ मा कायम गरेको १ मिनट ५७.२६ सेकेन्डको समयमा ०.८७ सेकेन्ड समय सुधार गर्दै १ मिनट ५६.३९ सेकेन्ड समयको नयाँ कीर्तिमान काय गरेको दोहाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक रत्न बज्राचार्यले जानकारी गराएका छन् ।

नासिरले आइतबार भएको ४०० मिटर फ्रिस्टायलमा पनि ४ मिनट ५.६५ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेका थिए ।

१०० मिटर ब्याकस्ट्रोकमा गौरिकाले आफ्नै नाममा रहेको पुरानो कीर्तिमान भङ्ग गर्दै नयाँ १ मिनट ५.४७ सेकेन्डको कीर्तिमान कायम गरेकी हुन् ।

गौरिकाले जापानको फुकुवाकामा भएको विश्व एक्वाटिक्स च्यामिपयनसिप २०२३ मा राखेको १ मिनट ६.८० सेकेन्ड समयमा १.३३ सेकेन्ड समय सुधार गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् ।

यसैबीच, भेट्रान खेलाडीहरूको छाता संगठन मास्टर्स एथलिट कमिटीले पूर्व भेट्रान खेलाडीहरूलाई सम्मान गर्ने भएको छ ।

कमिटीले आफ्नो समयमा खेलकुद विकासमा विशिष्ट योगदान पुर्‍याएका र राष्ट्रका लागि रगत पसिना बगाएका खेल ब्यक्तित्वहरूलाई फागुन १३ गते सम्मान गर्न लागेको हो ।

टेबल टेनिसका ९४ वर्षीय खेलाडी कविकेशरी बस्नेत र ८८ वर्षीय वाई.पी. लोहनी, फुटवलका ८८ वर्षीय डा. खगेन्द्रबहादुर श्रेष्ठ, ८४ वर्षीय श्याम केसी, ८२ वर्षीय खेलकुद फोटो पत्रकार समेत रहेका श्याम चित्रकार र ७९ वर्षीय विश्वप्रकाश थापा रहेका छन् ।

कमिटीले ८० वर्षीया महिला एथलेटिक्स खेलाडी, जसले समाजको परिवर्तनको संवाहकको रुपमा समेत आफूलाई स्थापित गर्न सफल भएकी, डा. कोकिला बैद्यलाई पनि सम्मान गर्न लागेको छ ।

कुनै बेला राष्ट्रका लागि खेल्दै रगत पसिना बगाएका तथा समाजमा परिवर्तनको संवाहकको रुपमा समेत रहिसकेका व्यक्तित्वहरू जो आज गुमनाम जस्तै रहेका छन् ।

तिनीहरूलाई सम्झदै सम्मानका साथ खेलकुदका नव युवाबीच परिचय गराउनु यस सम्मान कार्यक्रमको मुख्य उदेश्य रहेको एथलिट कमिटीका अध्यक्ष जिएन शर्माले बताए ।

Published : Tuesday, 2024 February 13, 1:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया