प्यूठान, कपिलवस्तुहितका जिल्लामा भएका दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । प्यूठान लगायतका जिल्लामा भएका अलग अलग सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

प्यूठानको माण्डवी गाउँपालिका–१ देविस्थान डाँडास्थित सडकमा रा.१ क ७७३ नम्बरको जेसीबीको ठक्करबाट सोही ठाउँ बस्ने ६४ वर्षीय ठगबहादुर घर्तीको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कपिलवस्तुको महाराजगंज नगरपालिका–११ बढेगाँउस्थित सडकमा हाल नम्बर नखुलेको अटो र लु.५६ प ४८९९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक महाराजगंज नगरपालिका–१ पिपरी बस्ने ३६ वर्षीय उदयराज रैदासको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका १ जनालाई सुमित्रा पोलिक्लिनिक महाराजगंजमा उपचारको लागि पठाइएको छ । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ ।

रूपन्देहीको बुटवल उप–महानगरपालिका–११ कालिकानगरस्थित सडकमा लु.७३ प ६५९८ नम्बरको स्कुटर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका–१३ बदेलपोखरी बस्ने ५४ वर्षीय राज कुमार थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ स्थित सडकमा बा.४ ख ३५५९ नम्बरको टिपर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा टिपरमा सवार सोही ठाउँ बस्ने २९ वर्षीय गोविन्द श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल मलेखुमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका टिपरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छभने १ जनालाई थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौं रिफर गरिएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित सडकमा ना.५ ख ५०१३ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभ–स्वस्तिक हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Published : Monday, 2024 February 12, 2:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया