आईजीपी कुँवर प्रतिष्ठानको वार्षिकोत्सवमा सहभागी, राम्रो काम गर्नेलाई पुरस्कार प्रदान

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६८औं वार्षिकोत्सव कार्यक्रममा सहभागी भएका छन् ।

काठमाडौंको महाराजगञ्जस्थित प्रतिष्ठानमा सोमबार आयोजित विशेष समारोहमा आईजीपी कुँवर सहभागी भएका हुन् ।

कुँवरले नेपाल प्रहरीको प्रशिक्षण लगायत अन्य विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याएका अवकाश प्राप्त प्रहरी नायव निरीक्षक ईन्द्रप्रसाद तिवारीलाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेका छन् ।

कुँवरले प्रशिक्षण गतिविधिलाई व्यवस्थित एवम् प्रभावकारी रूपमा संचालन गरी दक्ष एवम् व्यवसायिक जनशक्ति उत्पादन गर्न उल्लेखनीय योगदान पुर्‍याउने गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा कास्कीका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अरूण पौडेललाई प्रशंसापत्र प्रदान गरेका छन् ।

आईजीपी कुँवरले प्रतिष्ठानलाई सहयोग गर्ने केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेलाई प्रशंसापत्र प्रदान गरेका छन् । रस्साकस्सी खेलका विजेतालाई कुँवरले पुरस्कार समेत प्रदान गरेका छन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा प्रकाशित ‘प्रेरणा–२०८०’को आईजीपी कुँवरले लोकार्पण गरेका छन् ।

कुँवरले संगठनले अख्तियार गरेका नीतिको सफल कार्यान्वयन तथा संगठनले निर्दिष्ट गरेको लक्ष्य प्राप्त गर्न व्यावसायिक तवरले प्रशिक्षित जनशक्तिद्वारा स्वतस्फूर्त रूपमा प्रदर्शित हुने नि:स्वार्थ सेवा भाव र कर्तव्य बोधद्वारा प्रेरित कामकारबाहीबाट मात्र सम्भव हुने बताएका छन् ।

समग्र संगठनको श्रीवृद्धि गर्न, समय, समाज र संगठनको आवश्यकता अनुसारको जनशक्तिको उत्पादन प्रहरी प्रशिक्षण र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्रमुख ध्येय हुनुपर्ने आईजीपी कुँवरले बताएका छन् ।

प्रहरी सेवा संवेदनशील र चुनौतीपूर्ण पेशाको रूपमा रहेको उल्लेख गर्दै कुँवरले भने, ‘यस सेवालाई सामान्य पेशा वा जीविकोपार्जनको एउटा माध्यमको रूपमा मात्र ग्रहण गर्ने कर्मचारीलाई व्यावसायिक सफलता प्राप्त गर्न कठिन हुन्छ भन्ने प्रारम्भिक ज्ञान हरेक प्रहरीले तालिमका दौरान नै बुझेको हुनुपर्दछ ।’

‘प्रहरी सेवा केवल एक पेशा मात्रै हैन यो एउटा जीवनशैली हो र संगठनमा नवप्रवेशी सदस्यहरूलाई त्यो जीवनशैलीमा ढाल्ने प्रारम्भिक मार्ग प्रहरी प्रशिक्षण नै भएकोले यहाँका हरेक कर्मचारी सर्वोत्कृष्टताको अव्वल उदाहरण हुनुपर्छ’, उनले भने ।

प्रतिष्ठानले प्रशिक्षणका हरेक आयामहरूमा आफूलाई अब्बल साबित गर्न समाजमा देखा परेका नविनतम चुनौतीहरूलाई श्रृजनशिल ढंगबाट सम्बोधन गर्न सक्ने प्रहरी कर्मचारी निर्माणमा अहम् भूमिका निर्वाह गर्ने उनले बताएका छन् ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले धन्यवाद ज्ञापन गर्दै नेपाल प्रहरीले सम्पादन गर्नुपर्ने जटिल एवं वहुआयामिक जिम्मेवारी बहन गर्नसक्ने योग्य, सक्षम, व्यावसायिक र प्रतिबद्ध अधिकृत उत्पादन गर्न मुख्य ध्येयका साथ गतिशील रहँदै आएको बताएका छन् ।

प्रतिष्ठानले प्रशिक्षणको गुणस्तरमा सुधार तथा एकरूपता ल्याउन प्रशिक्षण पूर्वाधार तथा प्रशिक्षण मापदण्डको विकास, प्रशिक्षण पाठ्य सामग्री निर्माण र समयानुकूल परिमार्जन, प्रशिक्षणमा प्रविधिको प्रयोग जस्ता क्षेत्रमा प्रतिष्ठानले सक्रियता बढाउँदै आएको भण्डारीले बताएका छन् ।

प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक उमेशराज जोशीले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
रस्साकस्सी खेलको फाइनल प्रदर्शन तथा संगीत विद्यालयबाट सांगीतिक प्रस्तुति गरिएको थियो ।

Published : Monday, 2024 February 12, 1:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया