एयरपोर्टमा ठूला मान्छेलाई चेकिङ हुँदैन, बोरा छिर्छन्, दु:ख पाउने सानै मान्छे हुन् : कांग्रेस सांसद प्रसाइँ

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यस्था तथा सुशासन समितिकी सदस्य सरिता प्रसाइँले अन्तर्राष्ट्रिय विमानस्थलमा निकै ठूलो बेथिति रहेको बताएकी छिन् ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद प्रसाइँले विमानस्थलमा सुटकेशहरू फोडेर चोरी हुने गरेको गुनासो गरिन् । उनले यस विषयमा संसदमा आवाज उठाउने बताएकी छिन् ।

उनले भनिन्, ‘अन्तर्राष्ट्रिय विमानस्थलमा सामान चोरी हुँदा त्यसको परिदृष्य के रहेछ भन्ने कुरा विदेश जाने र आउने मानिसहरूको सुटकेशबाट चाबी फोडेर सामान झिकिदिने कार्य हुन्छ ।’

‘मै आफै मलेसिया र सिङ्गापुर जाँदा हामीमध्ये एकजनाको सुटकेशको चाबी खोलेर के के सामान झिकेको थियो’, उनले भनिन्, ‘फर्केर आउँदा मेरै घरको कसैको सुटकेशबाट चाबी निकालेर चकलेटको पोका झिकिदिएछ ।’

सांसद प्रसाइँले भनिन्, ‘मैले कम्प्लेन गर्दा एयरपोर्टमा मेरो अण्डरमा छैन भन्यो । अर्कोले अर्कोको अण्डरमा छैन भन्यो । कसको अण्डरमा छ ? हाउसमा बोल्ने भनेको हाउस बन्द थियो ।’

‘ठूला मान्छेलाई आउँदा कुनै चेकिङ हुँदैन । सुइँसुइँ बोराका बोरा छिर्छन् । दु:ख पाउने भनेको गरिव र सानै मान्छे हुन्’, सांसद प्रसाइँले भनिन्, ‘विमानस्थलमा अलिक सजिलो बनाउने हो कि ! हामीले एयरपोर्टमा कडाइका साथ भन्ने हो कि !’

‘संसारभरिका एयरपोर्टमा सुटकेश फुट्दैन । नेपालको एयरपोर्टमा आएपछि सुटकेश पनि फुटेको हुन्छ’, उनले भनिन्, ‘कसरी त्यस्तो हुन्छ ? हाम्रो एयरपोर्टमा आएपछि सुटकेश फुट्नुपर्ने कारण के हो ?’

‘सत्र बुँदेले एयरपोर्टमा सेटिङ गरेको थियो कि भन्ने बुझियो । त्यसलाई चेन्ज गरेर सात बुँदेमा ल्याउनु भएछ । राम्रो छ तपाईहरूले गर्नुस्’, उनले भनिन् ।

‘अध्यागमनमा कानूनहरूका कारण अफ्ठ्यारो रहेछ । हामीले के के कानून बनाइदिने हो बनाउँछौँ’, प्रसाइँले भनिन्, ‘अध्यागमनमा कर्मचारीहरूलाई ट्रेनिङ दिनुपर्छ । मानवता हराएको जस्तो व्यवहार हुन्छ ।’

उनले भनिन्, ‘दिल्लीबाट म आएको थिएँ । मेरो सुटकेशमा दुई/चार वटा लुगा र साडी थियो । एउटा आएर यो खोल्नुस् भन्यो । हामीसँग के थियो र ? खोलिदियौँ । हेर्न दियौँ । त्यहीँ मैले हेरेँ । मेरो पछाडि पछाडि, मैले चिनेकै मान्छे उसको सुटकेश पनि खोलिएन । त्यसको सुटकेश खोलेको भए त्यसमा धेरै सामान थियो होला ।’

सांसद प्रसाइँले काँकडभिट्टा नाका खोल्न माग गरेकी छिन् । उनले भनिन्, ‘काँकडभिट्टा नाकाबाट तीन वटा देश भारत, बंगलादेश र भुटान इन्ट्री हुन्छ । कोभिडपछि नाका बन्द छ । नाका खोल्न भारतसँग कुरा गर्नुपर्छ ।’

‘चीनको बोर्डर । हामी कोरोला नाका हेर्न गएका थियौं । हामी जाँदा नाका खुलेको थिएन । हामी आएपछि नाका खुल्यो’, उनले भनिन्, ‘चीनको नाकामा सबै थोक छ । हाम्रो नाकामा पुलिस थाना पनि धेरै तल छ । त्यहाँ पनि केही व्यवस्थापन गर्नुपर्छ ।’

उनले भनिन्, ‘महिलाहरूको तस्करी सेटिङमा हुन्छ । सरकारलाई महिलाहरू विदेशमा तस्करी भएको कुरा थाहा छभने किन रोक्न सकिदैन ? दुबईमा भिजिट भिषामा लगेर जान नहुने देशमा लैजाने गरिएको छ । तस्करी रोक्न कसले रोकेको छ ?’

Published : Sunday, 2024 February 11, 9:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया