काभ्रेली र सिन्धुपाल्चोकका टोली गुण्डाहरू पक्राउ

काठमाडौं । प्रहरीले भक्तपुरबाट नक्कली सुन देखाई ठगी गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–५ घर भई भक्तपुर बोडे बस्ने ३८ वर्षीय छुल्टीम लामा, ३३ वर्षीय राजेन्द्र तामाङ, २७ वर्षीय चीनबहादुर लामा रहेका छन् ।

त्यसैगरी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ बस्ने ४८ वर्षीय जीतबहादुर तामाङ र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ घर भई काठमाडौंको मूलपानी बस्ने ३१ वर्षीय मिलन भन्ने दावा दुण्डुप तामाङ पनि पक्राउ परेका छन् ।

पाँच जनाको समूहले रामेछापको दोरम्बा गाउँपालिका–४ घर भई भक्तपुर मध्यपुर ठिमी बस्ने २४ वर्षीया महिलालाई १ किलो सुन छ भनेर लगानी गर्न भनेका थिए ।

सुन बेचेर भागबण्डा गरौंला नाफा हुन्छ भनि सुन जस्तो बस्तु देखाई प्रलोभनमा पारी पीडितबाट ७ लाख ७५ हजार रूपियाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय भक्तपुर शाखा र प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले ठगीमा संलग्न उनीहरूलाई भक्तपुरको बोडेबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूमध्ये छुल्टीम लामा, राजेन्द्र तामाङ, चीनबहादुर लामा र जीतबहादुर तामाङलाई शुक्रबार पक्राउ गरिएको थियो । दावा दुण्डुप तामाङलाई शनिबार प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । छुल्टीमको साथबाट नगद १ लाख २२ हजार रूपियाँ र मोबाइल थान बरामद भएको छ ।

राजेन्द्रको साथबाट नगद १४ हजार रूपियाँ र मोबाइल २ थान, चीनबहादुरको साथबाट नगद ८६ हजार ५ सय रूपियाँ र मोबाइल २ थान, जीतबहादुरको साथबाट नगद ७४ हजार रूपियाँ र मोबाइल २ थान तथा दावा दुण्डुपको साथबाट मोबाइल १ थान बरामद भएको छ ।

Published : Sunday, 2024 February 11, 8:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया