सीआईबीद्वारा काभ्रेका रामभक्त थापा कोटेश्वरबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ६७ वर्षीय रामभक्त थापालाई पक्राउ गरेको छ ।

काभ्रेको पनौती नगरपालिका–६ ठेगाना भएका थापालाई सीआईबीको टोलीले शुक्रबार पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पुनरावेदन अदालत पाटनको २०७१ वैशाख २९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ वर्ष कैद र ९ करोड ७ लाख ६ हजार ३ सय ७८ रूपियाँ ७४ पैसा विगो बमोजिम जरिवाना ठहर भएको थियो ।

अदालतबाट कैद र जरिवाना भएपछि फरार रहेका थापालाई केन्द्रीय अनुसन्धान व्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो ।

क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी थापाले आफै संचालक रहेको काभ्रे ब्रोइलर सप्लायर्स नामक प्राइभेट फर्मको फर्जी कागजातहरू तयार गरी ८ करोड ५० लाख रूपियाँ कर्जा लिएका थिए ।

सो कर्जा दुरूपयोग गरी फाइनान्स कम्पनी लिमिटेडलाई विगो बराबर हानी नोक्सानी पुर्‍याएको भन्ने बैंकिङ कसूर मुद्दामा अदालतले थापाउपर कैद र जरिवाना फैसला गरेको थियो ।

Published : Sunday, 2024 February 11, 8:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया