अपराध प्रहरीद्वारा घोराहीकी मञ्जुलाई नयाँबानेश्वरमा पक्राउ

काठमाडौं । दाङको घोराही भएकी ३० वर्षीया मन्जु रावत घर्तीलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ ।

घोराही उप–महानगरपालिका वडा नं. १२ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. २६ सामाखुशी बस्ने मञ्जु रावतलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनको टोलीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

मञ्जु रावतका पिताको नाम देवीराम रावत क्षेत्री हुन् । उनका पतिको नाम सन्तोष घर्ती रहेको प्रहरीले जनाएको छ ।

मन्जुले राजिव बस्नेत समेत ३ जनालाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु भनेर ठगी गरेको अभियोगमा प्रहरीमा जाहेरी परेको थियो ।

मञ्जुले प्रतिव्यक्ति पन्ध्र लाख रुपियाँ लाग्छ भनेर रकम उठाएकी थिइन् । पोर्चुगल पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु भनेर मञ्जुले मासिक एक लाख पचास हजार रुपियाँ तलब हुने आश्वासन दिएकी थिइन् ।

पीडितहरूलाई विश्वास दिलाई प्रलोभनमा पारी मञ्जुले पीडितहरूबाट पटक पटक गरी अठार लाख रुपियाँ ) रकम लिई सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ ।

प्रहरीको अपराध कार्यालयबाट खटिएको टोलीले मन्जुलाई खोजतलास गर्ने क्रममा माघको २५ गते नयाँबानेश्वरबाट पक्राउ गरेको जनाएको छ ।

मञ्जुलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको छ ।

Published : Sunday, 2024 February 11, 7:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया